
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक इलिमिनेटर भिडन्तमा लुम्बिनी लायन्सले काठमाण्डू गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ। यो जितसँगै लुम्बिनीले फाइनल प्रवेशका लागि विराटनगर किंग्ससँगको ‘दोस्रो क्वालिफायर’ भिडन्त पक्का गरेको छ भने काठमाण्डूको उपाधि यात्रामा पूर्णविराम लागेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा बलरहरूको दबदबा र कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शन निर्णायक बन्यो।
काठमाण्डूले प्रस्तुत गरेको ११२ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै विजय लक्ष्य हासिल गर्यो। लुम्बिनीको इनिङ्सलाई सम्हाल्ने क्रममा ओपनर डी‘एर्सी शर्टले ३४ बलमा दुई छक्कासहित ३३ रनको महत्त्वपूर्ण योगदान दिए। यस्तै, सन्दीप जोराले २३ बलमा २३ रन र कप्तान रोहित पौडेलले १८ रन जोड्दै टिमलाई जितको नजिक पुर्याए।
अन्त्यमा नटआउट रहँदै निरोसान डिकवेला (१४) र दीलिप नाथ (७) ले टोलीलाई जितको रेखा पार गराए। काठमाण्डूका लागि सन्तोष यादवले २ विकेट लिए पनि सानो लक्ष्य रक्षा गर्न त्यो पर्याप्त भएन।
काठमाण्डूको ब्याटिङ ध्वस्त: सस्तैमा समेटियो टोली
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको काठमाण्डू गोर्खाजको सुरुआत निकै खराब रह्यो। पावर प्लेमै ४ विकेट गुमाएर २९ रनको नाजुक अवस्थामा पुगेको काठमाण्डू १९.१ ओभरमा १११ रनमै अलआउट भयो। काठमाण्डूका शीर्ष क्रमका ब्याटरहरू फ्लप हुँदा तल्लो क्रमका सन्तोष यादवले सर्वाधिक २२ रन बनाए।
जोन सिम्पसन र आदील आलमले १८-१८ रन जोड्दा कप्तान करण केसीले ९ रन मात्र बनाउन सके। बेन चाल्र्सवर्थ, आकाश त्रिपाठी र मिलिन्द कुमारजस्ता भरपर्दा ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।
लुम्बिनीका बलरको जादु
काठमाण्डूलाई सस्तैमा समेट्न लुम्बिनीका बलरहरू हाबी भए। स्पिनर शेर मल्ल र कप्तान रोहित पौडेलले समान ३-३ विकेट लिँदै काठमाण्डूको ब्याटिङ लाइनअप ध्वस्त पारे। रुबेन ट्रम्पेलमनले निकै कसिलो बलिङ गर्दै ३.१ ओभरमा १ मेडनसहित मात्र ७ रन खर्चेर २ विकेट हात पारे।
यो जितसँगै लुम्बिनी लायन्सले बिहीबार (भोलि) हुने दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले शनिबार उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। सुदूरपश्चिमले यसअघि नै विराटनगरलाई हराएर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
लिग चरणमा तेस्रो भएको काठमाण्डू र चौथो भएको लुम्बिनीबीचको यो खेल एनपीएल इतिहासमै यी दुई टोलीबीचको पहिलो प्लेअफ भिडन्त थियो, जसमा लुम्बिनीले बाजी मारेको छ।
