ग्रीनल्याण्ड स्कुलमा ‘पिबिएल मेला’: विज्ञान प्रदर्शनीमा नारायणी पब्लिक प्रथम, अभिभावकको निःशुल्क आँखा परीक्षण

Share:

भरतपुर । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा जारी ‘प्रोजेक्ट बेस्ड लर्निङ’ (पिबिएल) मेला अन्तर्गत बुधबार विज्ञान र स्वास्थ्यको अनौठो संगम देखिएको छ। मेलाको दोस्रो दिन विद्यार्थीहरूले विज्ञानको चमत्कार देखाउँदा अभिभावकहरूले भने विद्यालयमै स्वास्थ्य लाभ लिने अवसर पाए। भरतपुर महानगरस्तरीय विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले एकसे एक सिर्जनात्मक प्रोजेक्टहरू प्रस्तुत गरेका थिए। महानगरभित्रका १५ विद्यालय सहभागी उक्त प्रतिस्पर्धामा नारायणी पब्लिक स्कुलले प्रथम स्थान हासिल गरेको छ।

 

यस्तै, सृजना इङ्लिस बोर्डिङ स्कुलले दोस्रो र अर्किड स्कुलले तेस्रो स्थान सुरक्षित गर्न सफल भए। कार्यक्रम संयोजक लिलबहादुर हमालका अनुसार विजयी विद्यालय तथा विद्यार्थीहरूलाई प्रमुख अतिथि प्याब्सन बागमती प्रदेशका सल्लाहकार टिकाराम चापागाईं, स्कुलकी प्राचार्य इन्दिरा कार्की र सह-प्राचार्य उपेन्द्र आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए।

२०० अभिभावकको आँखा परीक्षण

विद्यालयले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै अभिभावकहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर पनि सञ्चालन गरेको छ। चितवन आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा २०० जना अभिभावकले आँखा जाँच गराएका छन्। स्कुलकी नर्स एवं संयोजक सुरुची कंडेलका अनुसार अस्पतालका आउटरिच कोअर्डिनेटर परशुराम रेग्मी र डा. प्रभात यादवको नेतृत्वको टोलीले परीक्षण सेवा प्रदान गरेको थियो।

साताव्यापी रूपमा चलिरहेको पिबिएल मेलाको उत्साह यतिमै सीमित छैन। बिहीबार र शुक्रबार ‘मिनी पिबिएल मेला’ अन्तर्गत विद्यार्थीहरूको विशेष प्रस्तुति रहनेछ।

मेलाको मुख्य आकर्षण भने मंसिर २९ गते हुनेछ। उक्त दिन विद्यार्थीहरूले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै आफैँले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कक्ष राख्नेछन्।

प्राचार्य इन्दिरा कार्कीका अनुसार विद्यार्थीले बनाएका धुपबत्ती, साबुन र विभिन्न परिकारहरू सो दिन बिक्रीका लागि राखिनेछ। आफ्ना नानीबाबुहरूको सीप र सिर्जना हेर्न तथा खरिद गरेर हौसला बढाउन विद्यालयले सम्पूर्ण अभिभावकलाई निमन्त्रणा समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: