पोखरामा विद्यार्थीको लोभलाग्दो प्रतिभा: कतै विज्ञानको खोज, कतै गुन्द्री र दुनाटपरी बुन्ने होड

Share:

पोखरा । पोखरा प्रदर्शनी केन्द्र यतिबेला विद्यार्थीहरूको प्रतिभाले रंगिएको छ । कतै सुरिलो भाकामा गीत गुञ्जिरहेका छन् त कतै विज्ञान तथा प्रविधिका नयाँ आविष्कार । नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले आयोजना गरेको ‘दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव’ मा विद्यार्थीको प्रतिभा हेर्न अभिभावक र सर्वसाधारणको थामिनसक्नु भिड लागेको छ । बुधबारदेखि सुरु भएको महोत्सवमा विद्यार्थीहरूले कक्षाकोठाको सिकाइलाई व्यवहारिक रूप दिँदै लोभलाग्दो प्रदर्शन गरिरहेका छन् ।

महोत्सवको मुख्य आकर्षण भने आधुनिकतासँगै हराउँदै गएका मौलिक सीपहरू बनेका छन् । विज्ञान र प्रविधिको युगमा हुर्किएका बालबालिकाहरू प्रदर्शनी केन्द्रमा तान लगाएर गुन्द्री बुनिरहेका देखिन्छन् । कोही चोया काटेर डोको बुन्दै छन् त कोही दुना-टपरी गाँस्न व्यस्त छन् ।

अभिभावकहरू आफ्ना छोराछोरीले लोप हुन लागेको सीप सिकेको देख्दा दंग छन् । नेसनल प्याब्सनले आधुनिकताको नाममा हराउँदै गएको मौलिकतालाई जगेर्ना गर्न र विद्यार्थीलाई व्यवहारिक सीप सिकाउन चालेको यो अभियानको आगन्तुकले खुलेरै प्रशंसा गरेका छन् ।

महोत्सवको उद्देश्यबारे प्रष्ट पार्दै एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले कक्षाकोठाभित्रको सैद्धान्तिक ज्ञानले मात्र सिकाइ पूर्ण नहुने बताए । अध्यक्ष अधिकारीले भने, ‘अहिले हामी बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर छौं । विद्यार्थीलाई आफ्नै घरमा प्रयोग हुने गुन्द्री, डोका र दुनाटपरी बनाउन सिकाउँदा उनीहरू आत्मनिर्भर मात्र बन्दैनन्, हाम्रो मौलिकता पनि जोगिन्छ । यो महोत्सव बालबालिकाका लागि जीवनोपयोगी सीप सिक्ने खुल्ला विश्वविद्यालय बनेको छ ।’

विविध विधामा १५ सय विद्यार्थीको प्रतिस्पर्धा

महोत्सवमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, तथा अङ्ग्रेजी वक्तृत्वकला जस्ता विधाहरू समावेश छन् । त्यस्तै, पात, पराल र चोयाबाट निर्मित हस्तकला सामग्री र विज्ञान तथा प्रविधिका स्टलहरूले महोत्सवलाई ज्ञानवर्धक बनाएको छ ।
एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका करिब १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा आफ्नो प्रतिभा देखाइरहेका छन् ।

विद्यार्थी, शिक्षक र अभिभावकमा नयाँ उत्साह थपेको यो महोत्सव शुक्रबार सकिनेछ । सचिव प्रेमराज अधिकारीका अनुसार शुक्रबार सामूहिक लोक नृत्य प्रतियोगिता र विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफी तथा मेडल प्रदान गरी महोत्सवको समापन गरिनेछ ।

कमेन्ट गर्नुहोस्
Share: