‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’-संयोजक प्रकाशलाल श्रेष्ठ

Share:

पोखरा । पोखराको लेखनाथमा आयोजना हुन लागेको २१औं संस्करणको ‘लेखनाथ महोत्सव’ को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव नजिकिँदै गर्दा यहाँका विभिन्न आमा समूह, क्लब, र सामाजिक संघ-संस्थाहरूमा झाँकी र र्यालीको तयारीले रौनक छाएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा पौष ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन सत्रलाई भव्य बनाउन तयारी तीव्र पारिएको हो ।

महोत्सवको मुख्य आकर्षण मानिने उद्घाटन सत्रको र्यालीमा यसपटक विभिन्न जातजातीको भेषभूषा र संस्कृति झल्कने झाँकीहरू प्रदर्शन गरिनेछ । झाँकी र्याली व्यवस्थापन उप-समितिका संयोजक प्रकाशलाल श्रेष्ठका अनुसार लेखनाथ महोत्सवको र्यालीले यहाँका समुदायको अपनत्व र एकतालाई झल्काउँछ ।

‘लेखनाथ महोत्सवमा जस्तो वृहत र व्यवस्थित झाँकी अन्यत्र विरलै देख्न पाइन्छ,’ संयोजक श्रेष्ठले भने, ‘फरक-फरक जातजाती र समुदायलाई एकै थलोमा उतारेर उनीहरूको मौलिक रीतिरिवाज र संस्कृति जगेर्ना गर्नु हाम्रो मुख्य उद्देश्य हो ।’ आयोजकले यसपटक झाँकी र र्यालीलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन पुरस्कार राशिमा वृद्धि गरेको छ । झाँकी र र्यालीलाई छुट्टाछुट्टै मूल्यांकन गरी पुरस्कृत गरिनेछ ।

झाँकीतर्फ प्रथम, द्धित्तीय, तृतीय र सान्त्वनालाई क्रमश नगद रु २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ भने र्यालीतर्फ प्रथम, द्धित्तीय र तृतीयलाई क्रमश नगद रु १५ हजार, १० हजार, ५ हजार र सान्त्वना हुने १० समुहलाई नगद रु २ हजार प्रदान गरिनेछ । यसरी झाँकी र्यालीमा सहभागी हुन चाहने समुहले यहि मंसिर २८ गतेभित्र आफ्नो समुह दर्ता गराईसक्नुपर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना-ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालयस्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिइन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा।लि।ले मुख्य प्रायोजन गरेको छ भने सह-प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप-समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: