
पोखरा। केही महिनाअघि भएको ‘जेनजी’ आन्दोलनको मौका छोपेर कारागारबाट फरार भएका एक कैदी फेरि चोरी कर्ममै फर्किएपछि प्रहरीको फन्दामा परेका छन्। पोखरामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दै गएपछि अनुसन्धानमा खटिएको वडा प्रहरी कार्यालय बैदामको टोलीले जेलबाट भागेका ‘सिरियल’ चोरसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा प्युठान घर भई हाल पोखरा-३ नदीपुर बस्ने २४ वर्षीय सुमित थापा मगर र धादिङ घर भई सोही ठाउँ बस्ने २७ वर्षीय सुजन परियार रहेका छन्। उनीहरूलाई प्रहरीले पोखरा-९ रामघाटबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका मुख्य आरोपी सुमित थापा मगरको आपराधिक पृष्ठभूमि रोचक र गम्भीर छ। उनी यसअघि पनि अभद्र व्यवहार, चोरी उद्योग र सार्वजनिक अपराधमा गरी ८ पटक पक्राउ परेर जेल परिसकेका व्यक्ति हुन्।
गत भदौ २४ गते भएको आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए। जेलबाट भागेर सुध्रिनुको सट्टा उनी पुनः पोखराका पसल र सवारी साधन फोडेर चोरी गर्न सक्रिय भएको पाइएको प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए। उनका अर्का साथी सुजन परियार पनि यसअघि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका व्यक्ति हुन्।
के-के चोरी गरे ?
यी दुईले छोटो समयमै पोखराका विभिन्न स्थानमा चोरी आतंक मच्चाएको अनुसन्धानबाट खुलेको छ। गत कात्तिक ६ गते पोखरा-१७ ड्यामसाइडस्थित आरुस स्टोर्सको ढोका फोडेर सुमितले २ लाख ७३ हजार ५ सय रुपैयाँ नगद चोरी गरेका थिए।
गत मंसिर ४ गते राति पोखरा-४ आदर्शमार्गमा पार्किङ गरेको ग १५ प १०२० नम्बरको डियो स्कुटर दुवै मिलेर चोरी गरेका थिए। गत असोज २७ गते पोखरा-१३ स्थित पोखरा लक्ष्मी ट्रेडर्सको काउन्टर फोडेर सुमितले ४१ हजार नगद र कागजात चोरी गरेका थिए।
गत मंसिर १० गते पोखरा-८ न्युरोडमा पार्किङ गरेको गाडीबाट ३५ हजार नगद र कागजात भएको झोला दुवै मिलेर चोरी गरेका थिए। पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
