हिमालय क्रिकेट एकेडेमी कप: प्रतिभा र रत्नज्योतिको विजयी सुरुआत, दिक्षान्त र प्रमिश बने ‘म्यान अफ द म्याच’

Share:

पोखरा । पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि ‘हिमालय क्रिकेट एकेडेमी कप-२०८२ यु-१६ अन्तर विद्यालय पुरुष टी-२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन प्रतिभा सेकेण्डरी स्कुल र रत्नज्योति सेकेण्डरी स्कुलले आ-आफ्नो खेल जित्दै सुखद सुरुआत गरेका छन् । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा प्रतिभाले हार्वड एकेडेमीमाथि ८३ रनको फराकिलो जित निकाल्यो ।

प्रतिभाको सानदार जित

उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको प्रतिभाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४९ रनको बलियो योगफल तयार पार्‍यो ।प्रतिभाका लागि दिक्षान्त अर्यालले ४६ बलमा अविजित ४९ रन र सावुदिन अनसारीले २९ बलमा ४६ रनको उत्कृष्ट पारी खेले । १ सय ५० रनको लक्ष्य पछ्याएको हार्वड एकेडेमी १७।३ ओभरमा ६६ रनमै समेटियो । हार्वडलाई सस्तैमा समेट्न प्रतिभाका रन्जित शर्माले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए भने रेमित शर्माले २ विकेट हात पारे ।

ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका प्रतिभाका दिक्षान्त अर्याल ‘प्लेयर अफ दी म्याच’ घोषित भए । बिहीबार नै भएको दोस्रो खेलमा रत्नज्योति सेकेण्डरी स्कुलले कुमुदिनी होम्सलाई ४ विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको कुमुदिनीले २० ओभरमा ७ विकेट गुमाएर १०४ रन बनायो ।

उसका लागि सन्जित कुँवरले अविजित २४ र रबिन पुनले २१ रन बनाए । कुमुदिनीलाई रोक्न रत्नज्योतिका प्रमिश गुरुङले घातक बलिङ गरे । उनले ४ ओभरमा १९ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए । १०५ रनको लक्ष्य रत्नज्योतिले १५.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । ब्याटिङतर्फ अरुण घिमिरेले २६ रनको योगदान दिए । ४ विकेट लिएका रत्नज्योतिका प्रमिश गुरुङ खेलको ‘प्लेयर अफ दी म्याच’ बने ।

प्रतियोगिताको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले विद्यालय स्तरका यस्ता प्रतियोगिताले खेलाडी बन्ने सपनालाई साकार पार्न मद्दत गर्ने बताए । उनले क्रिकेट विकासका लागि समितिले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पूर्व राष्ट्रिय खेलाडी एवं कास्की जिल्ला क्रिकेट संघका पूर्व कप्तान रविन्सन प्रजूले एकेडेमी सञ्चालनको पूर्वसन्ध्यामा हिमालय क्रिकेट एकेडेमीले ग्रासरुट क्रिकेटलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्नु सह्रानीय भएको बताए ।

प्रतियोगिता संयोजक बिरेन्द्र पुनका अनुसार शुक्रबार पहिलो खेल टप्स उच्च मावि र जनप्रकाश सेकेण्डरी स्कुलबीच तथा दोस्रो खेल ग्लोबल कलेजियट र त्रिवेणी स्कुलबीच हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: