
पोखरा । पोखरा महानगरपालिका स्थापना भएको ६७ वर्ष पुगेको अवसरमा यस वर्ष पनि भव्य र आकर्षक कार्यक्रमहरूको श्रृंखला सुरु हुने भएको छ । महानगरले तयारीलाई अन्तिम रूप दिएसँगै विविध सम्मान, सांस्कृतिक कार्यक्रम र विशेष कार्यक्रमसमेत समेटिएको स्थापना दिवसलाई यसपटक अझ भव्यरूपमा मनाउने जनाएको छ । यसअघि फागुन २७ गते देशभरका अन्य महानगरसँगै स्थापना दिवस मनाउँदै आएको पोखराले ऐतिहासिक तथ्यका आधारमा यस वर्षदेखि पहिलो पटक पुस २ मा दिवस मनाउन लागेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमुख धनराज आचार्यले स्थापना दिवसकै मुख्य आकर्षणका रूपमा विभिन्न ९ क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ९ व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरिने जानकारी दिए।
भाषा-साहित्य, कला-संगीत, नृत्य, नाट्य, चित्रकला, शिक्षा, स्वास्थ्य, कृषि-उद्यमशीलता, सामाजिक सेवा, खेलकुद, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा विज्ञान-प्रविधि लगायत अन्य क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई २ लाख २ हजार २०२ रुपैयाँसहित ताम्रपत्र, दोसल्ला र पदक प्रदान गरिने नगर प्रमुख आचार्यले बताए ।
उनका अनुसार महानगरमा कार्यरत कर्मचारीहरूमध्ये उत्कृष्ट, सर्वोत्कृष्ट र कर्तव्यनिष्ठ ११ जनालाई सम्मान गरिनेछ । यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याउने ६७ विद्यार्थी तथा कक्षा ८ मा ४ जिपिए हासिल गर्ने १२ विद्यार्थीलाई समेत सम्मानित गरिने घोषणा गरिएको छ ।
शिक्षक र विद्यालय क्षेत्रलाई प्रोत्साहन गर्न कक्षा ८ बाट ३० र एसइईतर्फ ३० गरी ६० उत्कृष्ट शिक्षकलाई सम्मान गरिनेछ । कक्षा ८ मा शतप्रतिशत नतिजा ल्याएका १५ विद्यालय, एसइईतर्फ ४९ विद्यालय तथा सामुदायिक र संस्थागत तर्फ सर्वाधिक जिपिए प्राप्त गर्ने १/१ विद्यालयलाई पनि सम्मान प्रदान गरिनेछ ।
महानगरका ३३ वटै वडामध्ये सरसफाइमा उत्कृष्ट ३ वडाले विशेष मान्यता पाउनेछन् । त्यस्तै महानगर मातहतका कार्यालयमध्ये सरसफाइमा उत्कृष्ट कार्यालय र नियमित तथा सर्वाधिक कर तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गरिनेछ । उमेरको ज्येष्ठतालाई आधार मानेर ‘महानगर मातापिता’ सम्मान पनि प्रदान गरिनेछ ।
स्थापना दिवसलाई जनमुखी र सहभागितापूर्ण बनाउन महानगरले किसानका लागि कृषि क्विज, रक्तदान कार्यक्रम र पोखराको सांस्कृतिक पहिचान जोगाउन सारङ्गी पार्क शिलान्यासजस्ता विशेष कार्यक्रमसमेत आयोजना गर्ने भएको छ ।
मुख्य समारोहको पूर्वसन्ध्यामा मानवअधिकार चोक चिप्लेढुंगादेखि सभागृहसम्म भव्य सांस्कृतिक झाँकी-र्याली निकालिने कार्यक्रम छ । समारोहमा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेश तथा विदेशका नगर प्रमुख तथा प्रतिनिधि, देशभरका महानगर-उपमहानगरका प्रमुख, छिमेकी पालिकाका प्रमुख, पोखरा महानगरका पूर्व पदाधिकारी र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ ।
स्थापना दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन मूल समारोह समिति, निर्देशक समिति तथा विभिन्न उपसमितिहरू गठन गरिएको महानगरले जनाएको छ । यस वर्षको स्थापना दिवस, पोखराको गौरव र पहिचानलाई झनै उजागर गर्ने अवसरका रूपमा हेरिएको छ।
