
पोखरा। पोखराको पर्यटनको ‘ब्राण्ड’ बनिसकेको सडक महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन आयोजक रेवान पोखरा र कास्कीका सुरक्षा प्रमुखहरूबीच विशेष रणनीति तयार पारिएको छ ।
आगामी पुस १३ देखि लेकसाइडमा सुरु हुने ‘२७ औं पोखरा सडक महोत्सव’ मा लाखौं दर्शकको सहभागिता हुने भएकाले सुरक्षा व्यवस्थापनलाई चुस्त पार्न आयोजकले कास्कीस्थित सबै सुरक्षा निकायका प्रमुखहरूसँग अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै कास्कीकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले पोखरा सडक महोत्सव पोखराको गरिमासँग जोडिएको बताइन्। उनले २७ औं संस्करणसम्म आइपुग्दा महोत्सव व्यवस्थित हुँदै गएको भए पनि यसपटक बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन्।
‘विगतको भन्दा अहिलेको परिस्थिति केही फरक छ, त्यसैले प्रशासनले सुरक्षा व्यवस्थापन चुस्त राख्न पूर्ण सहयोग गर्नेछ,’ शर्माले भनिन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नविन कार्कीले महोत्सवमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणमा प्रहरी चनाखो रहेको
बताइन् । उनले विशेषगरी फायर फाइटिङ (आगलागी नियन्त्रण), ट्राफिक जामको व्यवस्थापन र भीडभाडमा हुने पाकेटमारी तथा चोरीका घटना रोक्न विशेष योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए ।
महोत्सव सुरक्षा समिति संयोजक नरेश भट्टराईले लाखौं अवलोकनकर्ताको चापलाई मध्यनजर गर्दै लेकसाइडको भित्री र बाहिरी सडकको प्रयोग तथा ट्राफिक व्यवस्थापनको रणनीतिक योजना प्रस्तुत गरेका थिए।
छलफलमा नेपाली सेनाका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरीका एसपी सुर्यप्रसाद तिमिल्सीना, राष्ट्रिय अनुसन्धानका उप(अनुसन्धान निर्देशक मोहन बहादुर कुँवर लगायतले महोत्सवको सुरक्षा जिम्मेवारी बहन गर्न आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणी राज लामिछानेले महोत्सवको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारमा सघाउने बताउँदा, रेवानका पूर्व अध्यक्ष गोपीबहादुर भट्टराईले गलत क्रियाकलाप गर्नेलाई कारवाहीको दायरामा ल्याउन प्रशासनसँग आग्रह गरे।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले सुरक्षा निकायका सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गरिने बताए। उनले कुनै पनि अप्रिय घटना हुन नदिन सबै सुरक्षा संयन्त्रसँग समन्वय भइरहेको जानकारी दिए।
कार्यक्रममा महोत्सव संयोजक बसन्त गौतमले महोत्सवका आकर्षणबारे जानकारी गराएका थिए भने महासचिव विरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए । महोत्सव व्यवस्थित गर्न निजी क्षेत्रको सुरक्षा संस्था शितल सेक्युरिटीले पनि सहकार्य गर्ने जनाएको छ ।
