
काठमाडौं । बलरहरूको आक्रामक प्रदर्शन र ओपनर दिनेश अधिकारीको विस्फोटक ब्याटिङको मद्दतमा लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनीले सानदार शैलीमा उपाधि उचालेको हो। यता, लगातार दोस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्स भने फेरि एकपटक उपविजेतामै सीमित बन्न पुगेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमका लागि फाइनल खेल बिर्सनलायक रह्यो। लुम्बिनीका बलरसामु निरीह देखिएको सुदूरपश्चिम १९.२ ओभरमा जम्मा ८५ रन बनाउँदै अलआउट भयो। जारी एनपीएलमा बनेको यो कुनै पनि टोलीको सबैभन्दा कम योगफल हो। सुदूरपश्चिमको ब्याटिङ लाइनलाई ध्वस्त पार्न लुम्बिनीका कप्तान रोहित पौडेल नायक साबित भए। उनले इनिङको ११औँ ओभरमा ह्याट्रिक विकेट लिँदै खेलको मोड लुम्बिनीतिर फर्काए। रोहितले दीपेन्द्र सिंह ऐरी (१३), दीपक बोहोरा (०) र पुनित मेहरा (०) लाई लगातार पेभेलियन फर्काएका थिए। जारी प्रतियोगितामा ह्याट्रिक लिने रोहित दोस्रो खेलाडी हुन्।
त्यस्तै, लुम्बिनीका शेर मल्ल र रुबेन ट्रम्पलम्यानले पनि ३-३ विकेट लिँदै सुदूरपश्चिमलाई थप दबाबमा राखे। सुदूरपश्चिमका लागि ओपनर ईशान पाण्डेले सर्वाधिक ३३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा उल्लेख्य रन जोड्न सकेनन्।
८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले आक्रामक जवाफी ब्याटिङ गर्यो। लुम्बिनीका ओपनर दिनेश अधिकारीले सुदूरपश्चिमका बलरमाथि प्रहार गर्दै १३ बलमै ४२ रनको विस्फोटक पारी खेले। उनको यो इनिङले लुम्बिनीको जित सहज बनायो।
त्यस्तै, अर्का ओपनर डार्सी शटले १४ रन, कप्तान रोहित पौडेलले १६ रन र निरोशन डिकवेलाले अविजित ११ रनको योगदान दिए। लुम्बिनीले ८ ओभर (नवौँ ओभर) मै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट तथा दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १-१ विकेट लिए पनि सानाे लक्ष्य जोगाउन त्यो पर्याप्त भएन। योसँगै लुम्बिनी लायन्स एनपीएलको नयाँ बादशाह बनेको छ भने सुदूरपश्चिम रोयल्स उपाधि नजिक पुगेर पनि ‘अभागी’ सावित भएको छ।
