
पोखरा। पोखराको बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालय ले आयोजना गरेको तीनदिने खेल उत्सव आइतबार भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयमा एक दिन र पोखरा रंगशालामा दुई दिन गरी सञ्चालन गरिएको उत्सवमा कक्षा १ देखि १२ सम्मका एक हजारभन्दा बढी विद्यार्थी ले सहभागिता जनाएका थिए।
उत्सवमा कुल १३ वटा खेल विधा समावेश गरिएको थियो। अन्तिम दिन सम्पन्न भएको फुटबल फाइनल खेल मा अर्मान गुरुङको नेतृत्वमा रहेको अन्नपूर्ण सदन ले सन्देश खत्रीको कप्तानीमा रहेको माछापुच्छ्रे सदन लाई पराजित गर्दै उपाधि हात पारेको छ। निर्धारित तथा अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो, जसमा अन्नपूर्ण सदनले माछापुच्छ्रेलाई ६-५ गोलअन्तर ले पराजित गर्दै विजेता बनेको हो।
विद्यालयका सूचना अधिकारी जयराम पौडेल का अनुसार उत्सवमा ५०, १००, २००, ४०० र ८०० मिटर दौड, छात्र–छात्रा रिले, हाईजम्प, लङ्गजम्प, फुटबल, ह्यान्डबल, बास्केटबल, ब्याडमिन्टन ९सिङ्गल तथा डबल० लगायतका खेलहरू समावेश थिए।
उत्सवअन्तर्गत विभिन्न कक्षास्तरका छात्र–छात्राले दौड, रिले, हाईजम्प लगायतका प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका थिए। साथै कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरूले पिटी ड्रिल प्रस्तुत गर्दै दर्शकको ध्यान आकर्षित गरे।
मार्चपास प्रतियोगितामा धौलागिरी सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय र माछापुच्छ्रे सदन तृतीय भएको थियो। समग्र प्रदर्शनका आधारमा यस वर्ष पनि सगरमाथा सदन उत्कृष्ट सदन घोषित भएको छ।
विजयी विद्यार्थी तथा टिमलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पोखरा रंगशालाका कार्यालय प्रमुख डिबी नेपाली, प्याब्सन कास्कीका पूर्व अध्यक्ष मथुराप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनिया तथा विद्यालयका कार्यकारी निर्देशक दिनेशकुमार श्रेष्ठ लगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
समापन समारोहमा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ ले देशको खेलकुद विकासमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताए। आधारभूत तहदेखि नै खेलकुद क्षेत्रमा लगानी गर्न सके मात्र भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो।
समारोहमा विद्यार्थीहरूले नेपाली लोकसंस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप रंगीन बनाएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनिया को अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन शिक्षक मीना भण्डारी ले गरेकी थिइन्।
