पोखरा भ्रमण वर्ष २०२५ र २७औँ सडक महोत्सवको प्रचारमा पोखरेली पर्यटन व्यवसायी पूर्वी नेपालमा

Share:

पोखरा।  पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार/प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ पूर्वी नेपाल पुगेको पोखरेली पर्यटन व्यवसायीको टोलीले विराटनगर र इटहरी मा पत्रकार सम्मेलन गर्दै पूर्वेली नागरिकलाई पोखरा भ्रमणको निमन्त्रणा दिएको छ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति र रेवान पोखरा को संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई ले अहिले पोखरा भ्रमणका लागि सबैभन्दा उपयुक्त मौसम रहेको उल्लेख गर्दै सम्पूर्ण पूर्वेलीलाई पोखरा घुम्न आउन आग्रह गरे।

उनले पूर्वी नेपाल र पोखरालाई जोड्ने सडक सञ्जाल हाल सहज र सुरक्षित बन्दै गएको बताउँदै विगतमा देखिने यात्रा सम्बन्धी झन्झटहरू धेरै हदसम्म हटिसकेको जानकारी दिए। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन प्रवर्द्धनका लागि निरन्तर विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएको उनको भनाइ थियो। “मौसम, पहुँच र सुविधाको हिसाबले अहिले पोखरा भ्रमणका लागि अत्यन्त अनुकूल समय हो,” उनले भने।

पत्रकार सम्मेलनमा रेवान पोखराका उपाध्यक्ष तथा २७औँ पोखरा सडक महोत्सवका संयोजक बसन्त गौतम ले आगामी पुष १३ देखि १७ गतेसम्म आयोजना हुने सडक महोत्सवका मुख्य आकर्षणबारे जानकारी दिए।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित आयोजना हुँदै आएको महोत्सवले पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यका रूपमा स्थापित गरेको उनले बताए।

गौतमका अनुसार महोत्सवका मुख्य आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक प्रस्तुति, मौलिक भेषभूषा र झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट, डुंगा दौड, वेटर रेस, डोरी तान्ने, मःम तथा ससेज खाने प्रतियोगिता लगायतका विविध कार्यक्रम समावेश गरिनेछन्। साथै सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ लगायतका कार्यक्रमले महोत्सवलाई थप आकर्षक बनाउनेछन्।

सो अवसरमा पोखरा र पोखरा सडक महोत्सवको प्रवर्द्धनात्मक श्रव्य-दृश्य सामग्री पनि प्रस्तुत गरिएको थियो। यसअघि नेपाल पत्रकार महासंघ इटहरी ले भ्रमणमा आएको पोखरेली टोलीलाई रुद्राक्षको माला अर्पण गर्दै स्वागत गरेको थियो।

महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सह-प्रायोजकमा यति डिस्टिलरी, बोटलर्स नेपाल ९तराई० र दि नेपाल डिस्टिलरी प्रालि रहेका छन्। प्रवर्द्धक संस्थामा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन्।

सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर रहेको छ भने म पानी, गृहलक्ष्मी ग्यास, अन्नपूर्ण केबलकार र रेड बुल सहयोगी संस्थाका रूपमा रहेका छन्। महोत्सवमा पोखरा आसपासका स्थानीय हस्तकला, चित्रकला, मूर्तिकला, कृषि तथा वनस्पतिजन्य उत्पादन लाई प्राथमिकताका साथ प्रदर्शनी गरिनेछ। साथै पोखराका साहसिक पर्यटन गतिविधि समेटिएका वृत्तचित्र प्रदर्शन र पर्यटकीय गन्तव्यको प्रवर्द्धन पनि गरिनेछ।

कार्यक्रम सञ्चालन रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले गरेका थिए। सो अवसरमा होटल संघ चितवनका अध्यक्ष ओम पाण्डेले पुष ११ देखि १३ गतेसम्म आयोजना हुने हात्ती महोत्सवबारे जानकारी दिँदै अवलोकनका लागि आमन्त्रण गरे।

२० सदस्यीय भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक बसन्त गौतम, महासचिव बीरेन्द्र शेरचन, पूर्वअध्यक्ष सूर्य भुजेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल लगायत पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: