
पोखरा। केन्द्रीय अध्यक्ष गीता राणा को नेतृत्वमा रहेको नेसनल प्याब्सन को कास्की शाखाले पोखरा महानगरपालिका-२९ स्थित भण्डारढिक रंगशाला मा आयोजना गरेको दुईदिने खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोहमा बोल्दै नेसनल प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा ले देशको विषम परिस्थितिका बाबजुद पनि कास्की शाखाले खेलकुद प्रतियोगिता आयोजना गरेकोमा खुशी व्यक्त गरे। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गरे।
खेलकुद प्रतियोगितामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई जुनियर र सिनियर गरी दुई समूहमा विभाजन गरी खेल सञ्चालन गरिएको थियो।
जुनियर फुटबल तर्फ लिटल फ्लावर स्कुल प्रथम, पिनाकल एकेडेमी द्वितीय तथा सिद्धिविनायक र मर्निङ्ग ग्लोरी तृतीय भएका थिए।
यसैगरी सिनियर फुटबल तर्फको उपाधि मर्निङ्ग ग्लोरी एकेडेमी ले जितेको छ। फाइनल खेलमा मर्निङ्ग ग्लोरीले लिटल फ्लावर लाई १-० ले पराजित गर्दै च्याम्पियन बनेको हो। सिनियर फुटबलमा लिटल फ्लावर द्वितीय तथा पिनाकल एकेडेमी र एकता सेकेण्डरी तृतीय भएका छन्।
जुनियर खो–खो तर्फ एकता सेकेण्डरी प्रथम, सिद्धिविनायक द्वितीय तथा मर्निङ्ग ग्लोरी र पिनाकल एकेडेमी तृतीय भए। त्यसैगरी सिनियर खो-खो तर्फ पनि एकता सेकेण्डरी प्रथम, सिद्धिविनायक द्वितीय तथा मर्निङ्ग ग्लोरी र लिटल फ्लावर तृतीय स्थानमा रहेका थिए।
समापन समारोहमा नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहान, केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, महासचिव प्रकाशबहादुर थापा, केन्द्रीय सचिव सन्तबहादुर तामाङ, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट, केन्द्रीय सह–कोषाध्यक्ष शिवदत्त तिवारी, गण्डकी प्रदेश सचिव सिकन्दर गुरुङ लगायतले विजयी विद्यार्थी तथा विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्दै बधाई तथा शुभकामना व्यक्त गरे।
नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइराला को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विकल पौडेल ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव प्रतिभा के.सी. ले गरेकी थिइन्।

