
पोखरा । पोखरा र आसपासका फोटोग्राफरहरूद्वारा सञ्चालित कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित एक समारोहका बीच संस्थाले वर्षभरिका उत्कृष्ट सदस्य तथा कर्मचारीहरूलाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
२०६८ सालमा स्थापना भएको यस सहकारीले वित्तीय कारोबार मात्र नगरी उद्योग सञ्चालनमार्फत रोजगारी सिर्जनामा समेत नमूना कार्य गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संस्थाका संस्थापक सचिव एवं पूर्व अध्यक्ष जीवन ढुंगानाले सानो पुँजीबाट सुरु भएको संस्थाले फोटो फ्रेम उद्योग लगायतका व्यवसाय सञ्चालन गरी करिब ४० जनालाई रोजगारी दिनु सामान्य कुरा नभएको बताए।
ढुंगानाले राज्य पक्षबाट यस्ता उत्पादनमूलक सहकारीलाई आवश्यक सेवा सुविधा प्राप्त नहुनु दुःखद रहेको टिप्पणी गर्दै आगामी दिनमा संस्थालाई देशकै नमूना सहकारी बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।
हाल संस्थामा १९५ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी ३ करोड १० लाख २५ हजार, बचत १० करोड ४५ लाख र ऋण लगानी ९ करोड ६४ लाख रुपैयाँ रहेको छ । संस्थाले फोटोग्राफरहरूका लागि कलर ल्याब, फोटो प्रिन्ट, फ्लेक्स प्रिन्ट, मायाको चिनो, फोटो फ्रेम तथा फोटोग्राफीका सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।
उत्कृष्ट सदस्य तथा कर्मचारी सम्मानित
साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा सदस्य तथा कर्मचारीहरूलाई सम्मान गरेको छ । उत्कृष्ट कारोबारीमा भगवती ढकाल र हरिशरण ढुंगाना सम्मानित भएका छन् भने उत्कृष्ट बचतकर्तामा बिना ढुंगाना, बलराम शर्मा र राधाकृष्ण बराल सम्मानित भएका छन् ।
यस्तै, उत्कृष्ट बाल बचतमा आरोही अधिकारी, शान्भी दाहाल र जेनिश तिवारी सम्मानित भएका छन् । संस्थाको उत्कृष्ट कर्मचारीमा ईन्दिरा अधिकारी, सन्तोष बाँस्तोला र उमेश परियार सम्मानित भएका छन् ।
यसका साथै उद्योग तर्फ उत्कृष्ट व्यवसाय गर्ने २० जना सदस्यहरूलाई प्रमाणपत्र तथा फ्रेमद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा विशेष अतिथि पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङले पोखरा फोटोग्राफर संघ र कैलाश सहकारी नङ र मासु जस्तै अन्तरसम्बन्धित रहेको बताए। उनले संस्थाका सदस्यहरू सहकारीमा र सहकारीका सदस्यहरू संघमा अनिवार्य आबद्ध हुनुपर्नेमा जोड दिए।
त्यस्तै, अर्का विशेष अतिथि फोटोग्राफर संघ गण्डकीका वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदीले सहकारीको सेवा गण्डकी प्रदेशभर विस्तार गर्न संघले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा पूर्ण कुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए। बन्द सत्रमा अध्यक्ष खडानन्द अधिकारी, सचिव विष्णुहरि अधिकारी, कोषाध्यक्ष नविन ढुंगाना र लेखा समितिका संयोजक विजय पहारीले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विनोदराज ढकालले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव विष्णुहरि अधिकारीले गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्षहरू शिवहरी अधिकारी र दुर्गा प्रसाद पौडेल, सल्लाहकारहरू परशुराम शर्मा र रविनाथ दाहाल, शिक्षा समिति संयोजक घनश्याम पौडेल तथा शेयर सदस्यहरूका तर्फबाट ईन्दिरा शर्मा र भोलानाथ सुवेदीले शुभकामना मन्तव्य राखेका थिए।

