डिजेल-मट्टितेल सस्तियो, पेट्रोल महँगियो

Share:

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्दै डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँले कमी र पेट्रोलमा दुई रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम गरिएको छ। त्यस्तै पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६२ रुपैयाँ र तेस्रो वर्गमा १६३ रुपैयाँ पुगेको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्गमा राखेको छ। त्यसैगरी सुर्खेत र दाङ डिपो दोस्रो वर्गमा पर्दछन् भने काठमाडौं, पोखरा र दिपायल डिपो तेस्रो वर्गमा सूचीकृत छन्। निगमका अनुसार डिपोबाट १५ किलोमिटरसम्मका क्षेत्रमा यही खुद्रा बिक्री मूल्य लागू हुनेछ।

यसपटकको मूल्य समायोजनमा हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। निगमले इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको जनाएको छ। खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा घटेर आएको छ भने पेट्रोलमा १ रुपैयाँ ९४ पैसा बढेर आएको निगमको भनाइ छ।

नयाँ मूल्य समायोजनसँगै आम उपभोक्ताले डिजेल र मट्टितेलमा केही राहत महसुस गर्ने भए पनि पेट्रोल प्रयोगकर्तालाई भने थप आर्थिक भार पर्ने देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: