कुमुदिनी होम्सको ३९औं वार्षिकोत्सव: विद्यार्थीमा भाइचारा बढाउन अन्तरविद्यालय चित्रकला प्रतियोगिता, को-को भए विजेता ?

Share:

पोखरा । पोखरा महानगरपालिका-४ स्थित प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्सले आफ्नो ३९औं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन तथा विभिन्न विद्यालयबीच भाइचारा र अपनत्वको भावना विकास गर्न अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेका अनुसार प्रतियोगितामा पोखराका ५० विद्यालयका ९६ जना विद्यार्थी सहभागी थिए । विद्यार्थीहरूलाई ‘स्वतन्त्र’ विषय दिइएको थियो, जसले गर्दा उनीहरूले आफ्नो कल्पना र भावनालाई स्वतन्त्र रूपमा क्यानभासमा उतारेका थिए ।

प्रतियोगितालाई कक्षा ५ देखि ८ सम्म ‘जुनियर’ र कक्षा ९ देखि १२ सम्म ‘सिनियर’ गरी दुई समूहमा विभाजन गरिएको थियो । वरिष्ठ कलाकारहरू सुदिन श्रेष्ठ र बाबुराम बस्ताकोटीको निर्णायक मण्डलले उत्कृष्ट चित्रकला छनोट गरेको थियो । विजेता विद्यार्थीहरूमा जुनियर समूहतर्फ कक्षा ५-८० मा प्रथम रविन गुरुङ (ज्ञानगङ्गा विद्यापीठ) द्वितीयमा श्रेयाश गुरुङ (ग्लोबल कलेजियट स्कुल) तृतीयमा सुमी गुरुङ (शिशु कल्याण माध्यमिक विद्यालय) सिनियर समूहतर्फ (कक्षा ९-१२) प्रथममा तेजश सुनार हावर्ड एकेडेमी द्वितीयमा मिनुका गुरुङ (बालोदय माध्यमिक विद्यालय) तृतीयमा एलिशा श्रेष्ठ (कास्की मोडनाइज्ड एकेडेमी) रहेका छन् ।

कुमुदिनी होम्सले शैक्षिक गतिविधिसँगै कला र संस्कृतिको प्रवर्द्धनमा पनि नमुना काम गरेको छ । संस्थापक अध्यक्ष पालिखेले भने, “हामीले कला र संस्कृतिको जगेर्ना गर्न विद्यालय परिसरमै ‘जेके आर्ट म्युजियम’ स्थापना गरेका छौं । नेपालका करिब १० हजार निजी विद्यालयहरूमा यस्तो संग्रहालयको अभाव खट्किएकोले हामीले यो सुरुवात गरेका हौं । यहाँ देशका प्रख्यात कलाकारहरूका चित्रकला सङ्ग्रह गरिएको छ ।”

वार्षिकोत्सवलाई उत्सवका रूपमा मात्र नभई सेवाको अवसरका रूपमा पनि लिइएको छ । शिक्षक सुरेन्द्र सदिच्छाका अनुसार विद्यालयले कास्कीका दुर्गम क्षेत्रका विद्यालयहरूलाई खाजा तथा शैक्षिक सामग्री सहयोग गरेको छ । साथै, विभिन्न आश्रमहरूमा खाद्यान्न सहयोग र खेलकुदका कार्यक्रमहरू पनि आयोजना गरिएका छन् । चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई आउँदो पुस ५ गते आयोजना हुने विद्यालयको ३९औं वार्षिकोत्सव मूल समारोहमा पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: