
पोखरा । हेम्जा युनाईटेड पोखरा महानगरपालिका-२५ हेम्जाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा-२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि कापी कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा ( स्विटर, टोपी ) वितरण गरेको हो ।
विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लवका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिए ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिनुका साथै सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिबद्ध रहेको बताए ।
यस्तै, हेम्जा यूनाईटेड खेलकुदसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रूपमा लागेको थप उल्लेख गर्दै कार्यक्रमका बिच क्लबले गरेको सामाजिक कामको प्रशंसा गरेको थियो।
युनाईटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले वार्षिक क्यालेन्डर अनुसार खेलकुदसँगै मासिक रूपमा सामाजिकहितका लागि विभिन्न कार्य गर्दै आइरहेको तथा सोही अनुरुप स्टेशनरी सामग्री र मौसम अनुकूल न्यानो कपडा वितरण गरिएको बताए ।
जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्विटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने साथै स्टेशनरी सामग्रीले पठन पठान कार्यमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । प्रविधि युक्त शिक्षालाई निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा आवश्यक सहयोग र सहजीकरणको लागि युनाईटेड परिवारसँगै रहने प्रतिवद्धता समेत गरेका थिए ।
कार्यक्रममा कार्यक्रम संयोजक निराजन अधिकरी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नारायण बहादुर कुँवर, प्रधानाध्यपक ईन्द कुमारी पुन लगायत बोलेका थिए । क्लब पदाधिकारी, अभिभावक, शिक्षक शिक्षिका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भने क्लबका सचिव महादेव अधिकारीले गरेका थिए ।

