
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका पूर्व प्रमुख विनेश मुनन्कर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रबन्धकसमेत रहेका मुनन्कर्मीविरुद्ध मुद्दा दायर गरेको हो । उनले पदको दुरुपयोग गरी अस्वाभाविक सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगको अनुसन्धान अनुसार २०५४ फागुन १ गतेदेखि २०८० मंसिर १४ सम्मको अवधिमा उनको वैध आय र खर्चबीच ठूलो अन्तर देखिएको छ । यस अवधिमा उनको कुल वैधानिक आय ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ देखिएको छ ।
तर, सोही अवधिमा उनको जग्गा खरिद, घर निर्माण, शेयर लगानी र अन्य खर्चहरू जोड्दा कुल व्यय ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ पुगेको छ । यसरी आय र व्ययको विश्लेषण गर्दा २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।
मुनन्कर्मीले सार्वजनिक पदमा रहँदा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती पूर्णकेशरी गोसाईंको नाममा राखेको पाइएको छ । आयोगका अनुसार अवैध कमाईबाट श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, सुनका गरगहना खरिद र विभिन्न कम्पनीमा लगानी गरिएको भेटिएको छ ।
उनले पारिश्रमिक, जग्गा बिक्री, ऋण, शेयर लाभांश, विदेश भ्रमण भत्ता र आमाबुवाको सामाजिक सुरक्षा भत्तालगायत शीर्षकबाट ३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको देखाएका छन् । तर, उनले जग्गा तथा घर निर्माण, गाडी र मोटरसाइकल खरिद, शिक्षा, विदेशी मुद्रा सटही र बैंक मौज्दातमा गरेको खर्च ६ करोड २४ लाखभन्दा बढी देखिएपछि उनी अनुसन्धानको घेरामा तानिएका हुन् ।
सार्वजनिक पदको दुरुपयोग गरी अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र गैरकानूनी सम्पत्ति थुपारेको पुष्टि भएपछि आयोगले मुनन्कर्मी र उनकी श्रीमती गोसाईं दुवैलाई प्रतिवादी बनाई हदैसम्मको कारबाहीको मागसहित आरोपपत्र दायर गरेको छ ।
उनलाई क्यानका महानिर्देशक प्रदीप अधिकारीका निकटका व्यक्ति पनि मानिन्छ । गत २१ मंसिरमा अख्तियारले विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड भ्रष्टाचार भएको किटानीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
