
पोखरा। कास्कीको लेखनाथमा हरेक वर्ष आयोजना हुँदै आएको गण्डकी प्रदेशकै चर्चित ‘लेखनाथ महोत्सव’ को २१औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा भोली (बिहीबार) देखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महोत्सवले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास लिइएको छ।
सुस्ताएको बजार उकास्ने लक्ष्य
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीले वर्तमान विषम आर्थिक परिस्थितिका कारण खस्किएको व्यवसायी र उपभोक्ताको मनोबल उच्च बनाउन महोत्सव कोशेढुंगा साबित हुने बताइन्।
उनले भनिन्, ‘हामीले यो महोत्सवलाई केवल मेलाका रूपमा मात्र होइन, क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलोका रूपमा विकास गरेका छौं। यसलाई एउटा ‘अनौपचारिक विश्वविद्यालय’ का रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ।’
के छन् मुख्य आकर्षण ?
१२ दिनसम्म चल्ने महोत्सवमा दर्शकका लागि नयाँ र विशेष आकर्षणहरू समावेश गरिएको छ। महोत्सवमा विशेष रूपमा ‘जलपरी’ (Mermaid) प्रदर्शन गरिनेछ। यसका साथै: बौद्धिक विमर्श: कृषि, पर्यटन र उद्योग विषयक ‘टक शो’ (Talk Show)।
प्रतिभा प्रस्फुटन: टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, र विद्यालयस्तरीय नृत्य।
सांस्कृतिक पक्ष: विभिन्न जातजातिका झाँकी र्याली, महिला विशेष रत्यौली गीत र शान्तिका दूत गौतम बुद्धको प्रतिमा।
मनोरञ्जन: ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी, तथा युवा लक्षित पप र सुगम संगीत कन्सर्ट।
कृषिदेखि अटोमोवाइलसम्म ३३५ स्टल
महोत्सवमा उद्योग, व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, र अटोमोबाइल प्रदर्शनीलगायतका ३ सय ३५ वटा स्टलहरू रहनेछन्। साथै, महोत्सव स्थलमा फुड फेस्टिभल, जैविक विविधता र वित्तीय सेवा सम्बन्धी जानकारीमूलक स्टलहरू पनि राखिनेछ।
९ करोडको कारोबार, साढे २ लाख दर्शक
महोत्सवका प्रचारप्रसार संयोजक धु्रवबाबु भट्टराईका अनुसार यस वर्ष करिब २ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव अवधिभर करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ। आयोजकका अनुसार महोत्सवबाट ९५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने प्रक्षेपण गरिएको छ।
महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १०० रुपैयाँ र कन्सर्टका लागि २०० रुपैयाँ टिकट दर तोकिएको छ। सामाजिक उत्तरदायित्व बहन गर्दै आयोजकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने यस महोत्सवको मुख्य प्रायोजक गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि. रहेको छ भने सह–प्रायोजकमा बिएलसि ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट र हेटौडा डेरी रहेका छन्।
