हिमालय क्रिकेट एकेडेमी कप यु–१६: डायमण्ड सेकेण्डरी स्कुल सेमिफाइनलमा, टप्सको शानदार जित

Share:

पोखरा । हिमालय क्रिकेट एकेडेमी कप २०८२ अन्तर्गत यु-१६ अन्तर विद्यालय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा डायमण्ड सेकेण्डरी स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ। बुधवार सम्पन्न खेलमा डायमण्डले ग्लोबल सेकेण्डरी स्कुललाई १८ रनले पराजित गर्दै अन्तिम चारको यात्रा सुरक्षित गरेको हो। बुधवार नै भएको प्रतियोगिताको पहिलो खेलमा टप्स सेकेण्डरी स्कुलले लभिन स्कुलमाथि एकतर्फी जित निकालेको छ। टस जितेर ब्याटिङ गरेको टप्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो। टप्सका लागि सुजन थारुले ४० बलमा ३८ रन, शिवप्रसाद सुवेदीले २० बलमा ३३ रन तथा निश्चल अधिकारीले २७ बलमा २० रनको योगदान दिए। लभिनका बलर आरभ मानन्धर र प्रज्वल गुरुङले समान २–२ विकेट लिए।

१५३ रनको लक्ष्य पछ्याएको लभिन १३.५ ओभरमै ४३ रनमा समेटियो। लभिनका अविभजंग कुँवरले १२ बलमा ९ रन बनाए। टप्सका बलर साजन शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १ मेडेनसहित ७ रन खर्चेर ५ विकेट लिए भने अनुज शर्माले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए। शानदार बलिङ प्रदर्शनका कारण टप्सका साजन शर्मा म्यान अफ दि म्याच घोषित भए।

दोस्रो खेलमा डायमण्ड सेकेण्डरी स्कुलले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाएर ११७ रन बनायो। डायमण्डका अविरल पोख्रेलले २६ बलमा २९ रन र अशोक राज तिमिल्सिनाले २६ बलमा २० रन बनाए। ग्लोबलका बलर सक्षम सापकोटाले ४ ओभरमा ११ रन दिएर ३ विकेट लिए भने कबिर खत्रीले २ विकेट लिए।

जवाफी ब्याटिङमा ग्लोबलले २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा ९९ रन मात्र बनाउन सक्यो। ग्लोबलका लागि अर्जुन वाग्लेले ३९ बलमा १७ रन र कबिर खत्रीले २२ बलमा १९ रन जोडे। डायमण्डका बलर सबुद सुवेदीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदै जितमा महत्वपूर्ण भूमिका खेले। यस खेलमा डायमण्ड १८ रनले विजयी भयो। खेलको म्यान अफ दि म्याच डायमण्डका अविरल पोख्रेल घोषित भए।

प्रतियोगिता अन्तर्गत पुष ५ गते शनिबार सेमिफाइनलका खेलहरू हुनेछन्। पहिलो सेमिफाइनलमा जनप्रकाश माध्यमिक विद्यालय र हिमालयन सेकेण्डरी स्कुल तथा दोस्रो सेमिफाइनलमा प्रतिभा सेकेण्डरी स्कुल र डायमण्ड सेकेण्डरी स्कुलबीच प्रतिस्पर्धा हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: