
पोखरा । पोखरा महानगरपालिका-४ मा रहेको प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा मानवीय सेवाको कार्य गरी सामाजिक उत्तरदायित्व प्रदर्शन गरेको छ । विद्यालयले पोखरा महानगरपालिका-२५ हेम्जास्थित मानवसेवा आश्रमलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग प्रदान गरेको हो ।
एक विशेष कार्यक्रमका बीच विद्यालयका संस्थापकहरू मिना पालिखे र रश्मि राजभण्डारी, शिक्षकहरू मन बहादुर भुजेल, सजनी माजु श्रेष्ठ र विद्यार्थीहरूले संयुक्त रूपमा आश्रमका वयोवृद्ध मान बहादुर बुढा मगरलाई सो सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले कुमुदिनी होम्सले शिक्षासँगै संस्कार र सामाजिक सेवालाई पनि प्राथमिकतामा राख्दै आएको बताए ।
उनले भने, ‘हामीले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै हरेक वर्ष विभिन्न शैक्षिक संस्था र आश्रमहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छौं । यस्ता कार्यले विद्यार्थीहरूमा सेवाभाव र दयाको भावना विकास गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ । ’
शनिबार भव्य वार्षिकोत्सव समारोह
यसैबीच, विद्यालयको ३९ औँ स्थापना दिवस (वार्षिकोत्सव) को सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष पालिखेले जानकारी दिए । शनिबार विद्यालयको आफ्नै प्राङ्गणमा आयोजना हुने भव्य समारोहका लागि सम्पूर्ण अभिभावक, भूतपूर्व विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई उनले हार्दिक निमन्त्रणा गरेका गरे ।
उनका अनुसार स्थापनाकालदेखि नै उत्कृष्ट नतिजा र अनुशासित वातावरणका लागि कहलिएको कुमुदिनी होम्सले यस वर्ष पनि विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका साथ आफ्नो वार्षिकोत्सव मनाउन लागेको हो ।
