लेखनाथ महोत्सवमा रत्यौली प्रतियोगिता, लोकसंस्कृति जगेर्नाको सशक्त प्रयास

Share:

पोखरा । नेपाली समाजमा विवाहको अवसरमा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै जान थालेपछि त्यसको संरक्षण, जगेर्ना तथा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्दै आइएको छ। दुलाहाको घरमा विवाहका अवसरमा बालिने शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाहरूले सामूहिक रूपमा गाउने गीतलाई रत्यौली भनिन्छ। जन्ती हिँड्नुअघि दुलाहाको घरमा गरिने कर्मकाण्डदेखि जन्ती प्रस्थान, दुलहीको घरमा गरिने संस्कार तथा पुनः दुलाहाको घर फर्कँदासम्मका विभिन्न अवस्थालाई समेटेर रत्यौली गीत गाइने गरिन्छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवं वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले रत्यौली गीतलाई विवाह संस्कृतिसँग गहिरो रूपमा जोडिएको मौलिक लोक परम्परा भएको बताए। रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरे पनि पछिल्ला दिनमा समाजले सहज रूपमा स्वीकार गर्ने शब्द र विषयवस्तु समेटेर गीत सिर्जना हुन थालेकाले यस्ता प्रतियोगिताले रत्यौली संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्व अध्यक्ष शिवहरि ढुंगानाले मेला-महोत्सवमा रत्यौली प्रतियोगिता आयोजना गर्दा नयाँ पुस्तालाई यसबारे ज्ञान दिनुका साथै लोकसंस्कृतिको संरक्षणमा टेवा पुग्ने बताए। रत्यौली गायन तथा प्रदर्शनमा महिलाको मात्र सहभागिता रहने र एक समूहले बसेर ताली बजाउँदै गीत गाउने परम्परा रहेको उनले जानकारी दिए।

ढुंगानाका अनुसार रत्यौलीलाई नृत्य र अभिनयले थप रोचक बनाउने गरिन्छ। गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिला पुरुषको भेषमा सजिएर पुरुष पात्रको नृत्य र अभिनय गर्छिन्। यसरी पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने पात्रलाई ‘लुठो’ भन्ने चलन रहेको छ।

रत्यौली गीत आफैँमा मनोरञ्जनात्मक हुने र नर्तकहरूको अभिनय तथा नृत्यले गायनस्थललाई झनै रमाइलो बनाउने महिला विशेष कार्यक्रमकी संयोजक प्रतिक्षा रानाभाटले बताइन् । महोत्सवको स्टेजमा नौमती बाजासहित प्रस्तुत गरिने यस्ता प्रतियोगिताले मेला-महोत्सवलाई मात्र नभई सम्पूर्ण लोकसंस्कृतिको संरक्षण र नयाँ पुस्तामा रत्यौलीको महत्व बुझाउन सहयोग पुग्ने उनको भनाइ छ।

पुस महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले विवाहकै झल्को दिने गरी पञ्चेबाजाको साथमा बेहुला-बेहुली सजाएर रत्यौली गीतलाई विशेष स्थान दिएको छ। महोत्सवको थप आकर्षणका रूपमा रहेको रत्यौली प्रतियोगिताका लागि २० वटा समूह पहिलो चरणबाट छनोट भएका छन्। शुक्रबार नमुना कृषक आमा समूह पोखरा-२६ भरतपोखरी विश्वकर्मा समाज महिला पोखरा-३३ र सरस्वती सामुदायिक महिला समूह पोखरा-३३ ले प्रस्तुति दिएका थिए भने शनिबार गायत्री आमा समूह पोखरा-३२ ले रत्यौली प्रस्तुत गर्नेछ।

यसैगरी महोत्सवको विद्यालयस्तरीय कार्यक्रमअन्तर्गत शुक्रबार सरस्वती टिका मावि, ओएसिस सेकेण्डरी स्कुल, ज्ञानकुञ्ज विद्याश्रम, सिर्जना बहिरा मावि र अमरसिद्ध नमुना माविको प्रस्तुति रहेको थियो। शनिबार थप चार वटा विद्यालयको प्रस्तुति रहने विद्यालयस्तरीय कार्यक्रम व्यवस्थापन समितिका सदस्य अर्जुनप्रसाद आचार्यले जानकारी दिए।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने मूल नाराका साथ पुस ३ गतेदेखि सुरु भएको २१औँ संस्करणको लेखनाथ महोत्सवको दोस्रो दिन ११ हजार दर्शकले अवलोकन गरेका छन् भने करिब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको महोत्सवका प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए।

शुक्रबार लोकदोहोरी कलाकार धनश्याम रिजाल, कुमार पुन, कृष्णा गुरुङ, शिवहरि ढुंगाना, मञ्जु विक, केशव देवकोटा, गगन गुरुङ र अमृता हमाललगायतले प्रस्तुति दिएका थिए भने बेलुका स्थानीय ब्याण्डहरूको लाइभ कन्सर्ट आयोजना गरिएको थियो।

शनिबार लोकदोहोरीतर्फ खुमन अधिकारी, मिरा पोख्रेल, शान्ता वर्देवा, मधु थापा मगर, गगन गुरुङ र शिवहरि ढुंगानाले प्रस्तुति दिनेछन्। त्यस्तै हाँस्यव्यंग्यतर्फ राजेन्द्र गिरी (गुन्द्रुके) तथा बेलुका सुगम संगीततर्फ रचना रिमाल र डेभिड शंकरले प्रस्तुति दिने कार्यक्रम रहेको कलाकार संयोजक भरतकुमार अधिकारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: