गण्डकी पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका निर्णायक

Share:

पोखरा । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका निर्णायक हुने निष्कर्षसहित नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा ‘गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अन्तरक्रियामा वक्ताहरूले गण्डकी प्रदेशका विद्यमान पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचारप्रसार तथा ओझेलमा परेका नयाँ गन्तव्यको पहिचानमा मिडियाको भूमिका अपरिहार्य रहेकोमा जोड दिएका थिए। पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा पर्यटन व्यवसायीहरूले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि महासंघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल पत्रकार महासंघअन्तर्गत गण्डकी प्रदेशका जिल्ला अध्यक्ष, सचिव तथा कोषाध्यक्षहरूको दुईदिने भेलाको अवसरमा शनिबार पोखरामा सम्पन्न उक्त कार्यक्रम पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको सहकार्यमा आयोजना गरिएको हो।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको उल्लेख गर्दै पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। हाल सञ्चालनमा रहेको ‘पोखरा भ्रमण वर्ष-२०२५’ लाई सफल बनाउन महासंघसँग आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले नयाँ तथा ओझेलमा परेका पर्यटकीय गन्तव्य पहिचानमा ‘मिडिया आवाजविहीनको आवाज’ बनेको उल्लेख गरे। पछिल्लो समय सामाजिक सञ्जाल, भ्लग, टिकटकजस्ता माध्यमहरू पनि पर्यटन प्रवद्र्धनका प्रभावकारी औजार बन्दै गएको उनको भनाइ थियो। गण्डकीका सबै जिल्लाका पत्रकारसँग एकै ठाउँमा अन्तरक्रिया गर्ने अवसर दिलाएकोमा महासंघप्रति आभार व्यक्त गर्दै उनले भने, “पर्यटनको राजधानी पोखरामा यस्तो कार्यक्रम पहिलो पटक भएको हो, तर अन्तिम नहोस्।” विश्वमा पर्यटन चलायमान हुनुमा करिब ७५ प्रतिशत योगदान मिडियाको रहेको तथ्यसमेत उनले प्रस्तुत गरे।

रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले आउँदो साता हुने २७ औँ पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै जाडोयाममा सुस्ताउने पर्यटनलाई सडक महोत्सवले चलायमान बनाउने बताए। पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सफल बनाउन मिडियाबाट विगतझैं व्यापक प्रचारप्रसारको अपेक्षा उनले गरे।

टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले टान गण्डकी प्रदेशका ११ वटै जिल्लामा फैलिएको बताउँदै पर्यटन प्रवद्र्धनमा मिडियाको सहयोग सदैव महत्वपूर्ण रहेको उल्लेख गरे। संरक्षित क्षेत्रमा पर्यटन गतिविधि सञ्चालन गर्दा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिँदै उनले हिमालको पाँच किलोमिटर वरिपरि बाटो र हाइड्रो नबनाउनुपर्ने धारणा राखे।

नाट्टाकी महासचिव संगीता पौडेलले पर्यटन क्षेत्रमा ठूलो लगानी भइसके पनि अपेक्षित प्रतिफल नआएको गुनासो गर्दै मिडियाले निरन्तर कलम चलाए गण्डकी प्रदेशकै पर्यटनमा सकारात्मक प्रभाव पर्ने बताइन्।

प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेलले पर्यटन क्षेत्र अत्यन्त संवेदनशील भएकाले मिडियाले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। नकारात्मक सन्देशले क्षणभरमै ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले पत्रकार सचेत हुनुपर्ने उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाललगायतले पर्यटन प्रवद्र्धनका लागि महासंघ केन्द्र सदैव सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।

सो अवसरमा महासंघ केन्द्रीय सदस्य केवी राना, म्याग्दी अध्यक्ष हरिकृष्ण गौतम, तनहुँ अध्यक्ष डिपी अधिकारी, गण्डकीका निवर्तमान सचिव यदुनाथ बञ्जारा, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बराललगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए।

महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष रमेश पौडेलले पोखरालाई केन्द्रमा राखेर गण्डकी प्रदेशभरका पर्यटकीय गतिविधिको प्रवद्र्धनमा मिडियाले सरोकारवालासँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

महासंघ गण्डकी उपाध्यक्ष प्रकाश पौडेलको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव जमुना वर्षा शर्माले गरेकी थिइन् भने धन्यवाद ज्ञापन महिला उपाध्यक्ष माया अधिकारीले गरेकी थिइन्।

कार्यक्रममा टेवान अध्यक्ष शोभा पाण्डे, गाउँ पर्यटन प्रवद्र्धन मञ्च अध्यक्ष शोभा सापकोटा, एगा पोखरा अध्यक्ष गोकर्ण लम्साल, नाका अध्यक्ष अनिल केसीलगायत पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार महासंघका पदाधिकारी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: