
पोखरा । ‘महोत्सवको पनि महोत्सव’ भनेर चिनिएको २१औँ संस्करणको लेखनाथ महोत्सव तेस्रो दिन शनिबार दर्शकको उल्लेख्य उपस्थितिसहित भव्य रूपमा जारी छ। शनिबार सार्वजनिक बिदा परेकाले स्थानीय बासिन्दा, विभिन्न संघसंस्था तथा विद्यालयका विद्यार्थीहरूको सहभागिताले महोत्सवस्थल खचाखच भरिएको थियो।
आयोजकका अनुसार शनिबार मात्र करिब ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन्। प्रचार-प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिएअनुसार एकै दिनमा करिब १ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। तेस्रो दिनसम्म आइपुग्दा महोत्सव अवलोकन गर्ने दर्शकको संख्या करिब १ लाख पुगेको उनले बताए।
विशेषगरी बाल उद्यानतर्फ दर्शकको आकर्षण अत्यधिक देखिएको छ। बाल उद्यान संयोजक भरत थापाका अनुसार बाल उद्यान क्षेत्रमा मात्र १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
महोत्सव गेटदेखि करिब ३३५ वटा स्टल पार गर्दै कार्यक्रमस्थल पुग्न दर्शकलाई हम्मे-हम्मे परेको दृश्य देखिन्थ्यो। यसले महोत्सवप्रतिको जनआकर्षण स्पष्ट रूपमा झल्काएको आयोजकको भनाइ छ।
सांस्कृतिक कार्यक्रमतर्फ वडहरे गन्धर्व समाजको नृत्य प्रस्तुति विशेष आकर्षण बनेको थियो। विद्यालयस्तरीय कार्यक्रममा आनन्द ज्योति मावि, गुरुकुल विद्याश्रम, भवानी कालिका मावि र लक्ष्मी आदर्श माविका विद्यार्थीहरूले आ-आफ्ना प्रस्तुति राखेका थिए। त्यस्तै रत्यौलीतर्फ गायत्री आमा समूहले दर्शकको मन जितेको थियो।
कलात्मक प्रस्तुतितर्फ लोकदोहोरी गायनमा खुमन अधिकारी, निरा पोख्रेल, शान्ता बर्देवा, गगन गुरुङ, मधु थापा मगरको प्रस्तुति रहेको थियो भने सुगम संगीततर्फ रचना रिमाल र डेविड शंकरले दर्शकलाई मन्त्रमुग्ध बनाए।
आयोजकका अनुसार महोत्सव अवधिभर लोकदोहोरी, हास्यव्यङ्ग्य तथा सांगीतिक कार्यक्रमहरू निरन्तर जारी रहने छन्। महोत्सवले स्थानीय कला, संस्कृति, व्यापार र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ।
