पोखरामा निःशुल्क रक्त परीक्षण शिविर, ५५५ जनाले लिए सेवा

Share:

पोखरा। गण्डकी प्रदेशकै पहिलो तथा एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा पोखराका विभिन्न स्थानमा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न भएको छ।

इनरह्विल क्लब अफ पोखरा र पोखरा महानगरपालिका वडा नं. ३ को आयोजनामा तथा युआरएल र पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा नदीपुरमा शनिबार आयोजना गरिएको शिविरमा २०३ जनाको थाइराइड तथा मधुमेहसम्बन्धी निःशुल्क रक्त परीक्षण गरिएको हो।

यसैगरी, शनिबार नै लायन्स क्लब अफ ब्याटिसिटी, लायन्स क्लब अफ पोखरा जिबिपी र शिवालय आमा समूहको संयुक्त आयोजनामा पोखरा–८, शिवालयचोकमा सम्पन्न अर्को शिविरमा मधुमेह, थाइराइड तथा मिर्गौलासम्बन्धी रोगको निःशुल्क परीक्षण गरिएको थियो। उक्त शिविरमा ३५२ जनाले सेवा लिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए।

अध्यक्ष पन्थले गण्डकी प्रदेशकै अग्रणी प्रयोगशाला भएकाले निजी क्षेत्रले निर्वाह गर्नुपर्ने सामाजिक दायित्वमा युआरएल सधैँ अग्रसर रहँदै आएको बताए। उनले भने, “स्थापनाको १२ वर्षको अवधिमा विभिन्न संघसंस्थासँगको सहकार्यमा तथा आफ्नै पहलमा २१४ वटा स्वास्थ्य शिविर सम्पन्न गरिसकेका छौँ। परीक्षणसँगै विशेषज्ञमार्फत स्वास्थ्य सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ।”

पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले सबै नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारी राज्यको मात्र नभई संघसंस्था र निजी क्षेत्रको पनि साझा दायित्व भएको उल्लेख गरे।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले मधुमेह, थाइराइडलगायत नसर्ने रोग लाग्ने कारण, उपचार विधि र जटिलताबारे जानकारी गराउँदै नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान र स्वस्थ जीवनशैली अपनाए धेरै रोगबाट बच्न सकिने बताए।

त्यस्तै वरिष्ठ स्त्री तथा बाँझोपन रोग विशेषज्ञ डा. सरिता गुरुङले नेपाली महिलाले अझै पनि रोग लुकाउने प्रवृत्ति रहेको उल्लेख गर्दै समस्या लुकाउनुभन्दा समयमै उपचार खोज्न आग्रह गरिन्। उनले भनिन्, “पाठेघर, बाँझोपनलगायत समस्याबाट महिलाहरू बढी पीडित छन्। समस्या लुकाएर होइन, उपचार गरेर जीवन सहज बनाउनुपर्छ।”

लायन्स क्लब अफ ब्याटिसिटीकी अध्यक्ष कल्पना सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रिक्ट फेलोसिप चिफ सबी शेरचन, शिवालय टोल विकास संस्थाका अध्यक्ष ईश्वरप्रसाद सुवेदी, ब्याटिसिटीकी सचिव सुनिता अधिकारीलगायतले स्वास्थ्य शिविरको महत्वबारे मन्तव्य राखेका थिए।

स्वास्थ्य परीक्षण शिविरले समुदायस्तरमै रोगको पहिचान र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: