
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देश बनाउने जिम्मा आफ्नो पार्टीको भएको दाबी गरेका छन्। शनिबार (आज) चितवनको चौविसकोठीमा विशेष सम्बोधन गर्दै सभापति लामिछानेले जेनजीको साथ लिएर अब आफूहरू देश बनाउन लाग्ने उद्घोष गरेका हुन्।
उनले रास्वपा २०८४ को चुनाव कुरिरहेको बेला जेनजीले बीचमै सरकारमाथि हस्तक्षेप गरेर सत्ता पल्टाइदिएको भन्दै खुसी व्यक्त गरे। आफूहरू चुनाव कुरेर बसिरहेको बेला जेनजीले सरकारलाई तागत देखाइदिएको बताए।
देशको संरचना जलेको देखेर आफूलाई दुःख लागेको बताउँदै उनले थपे, ‘सिंहदरबार पनि बनाउँला, न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ ? हामी बनाउँछौँ। जेनजीको साथ लिएर अब देश बनाउन हामी लाग्छौँ। रास्वपा लाग्छ। म मान्छे मात्रै भएछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। सांसद, मन्त्री बन्न त रोकौला मान्छे बन्न त दिन्छौ होला नि ? मलाई अनागरिक बनायौ, जबरजस्ती झूटा मुद्दा लगाएर संसदबाट निकाल्यौं। तर जनताको मनबाट बाहिर निकाल्न सक्यौरु सक्छौ भने जनताको मनबाट बाहिर निकाल। म तयार छु।’
उनले आफूमाथि झूटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टर चढी भागेको बताए। अहिलेको सरकारले जेनजी आन्दोलनको एजेण्डलाई बोकेर गए जनताको समर्थन मिल्ने दाबी पनि उनले गरे। ‘अघिल्ला सरकारबाट मप्रति प्रतिशोध साँधियो। ढुक्क हुनु म बाट प्रतिशोधपूर्ण राजनीति हुँदैन। जेन–जीले जेका लागि बलिदानी दिएको थियो त्यसमा अडिक बन्यो भने अहिलेको सरकार हामी सघाउनेछौं। रास्वपा सतिसाल बनेर खडा हुनेछ। म काठमाडौं गएर प्रधानमन्त्रीज्यूलाई पनि भेट्नेछु।’
लामिछानेले भदौ २३ गतेका दिन मान्छे मार्नेका विरूद्ध जनता सडकमा निस्किएको बताए। तर त्यतिखेर सरकारमा रहनेहरूले २३ गतेको कुरा नगरी २४ गतेको मात्रै कुरा गरिरहेको उनले बताए। उनले जेनजी भाइबहिनीको साथमा अब रवि दाइ थपिएको बताए।
उनले भने, ‘चितवनको चौबीसकोठीले हाम्रो लागि इतिहास बोकेको छ। चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ। मलाई अन्याय पर्दा तपाईँहरूले साथ दिनुभएको छ।’
चितवनमा विशेष सम्बोधन लगत्तै रविले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेट्न काठमाडौं गएका छन ।
