
पोखरा । पोखराको प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यामिक विद्यालयले आफ्नो ३९ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार पोखरा-४ गैह्रापाटनमा रहेको विद्यालयले विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको मुख्य आकर्षण विद्यार्थी र शिक्षकहरूलाई प्रदान गरिएको सम्मान रह्यो ।
गत वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याउन सफल विद्यार्थी सलिना खत्रीलाई विद्यालयले नगद १ लाख १ हजार रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरेको छ । यस्तै, गणित विषयमा २८ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएकोमा गणित विभागका शिक्षकद्वय सह-प्राचार्य मन बहादुर भुजेल र गुरुप्रसाद भण्डारीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । विद्यालयमा २० वर्ष सेवा पुर्याएका सह-प्राचार्य मुकेश कुमार अधिकारीलाई ‘दीर्घ सेवा सम्मान’ प्रदान गरिएको छ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरेका कारण कुमुदिनीले यो उचाइ हासिल गरेको बताए ।
“हाम्रो नारा नै ‘सधैं उच्च लक्ष्य’ हो,” पालिखेले भने, “हामीले सूचना प्रविधि, आईसीटी, थ्रिडीआई र पछिल्लो समय एआईसम्मका सेमिनार सञ्चालन गरेर विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाइरहेका छौं ।”
उनले छिमेकी देश चीनबाट आउने पर्यटकलाई लक्षित गरी भविष्यमा दोभाषेको आवश्यकता पूर्ति गर्न कक्षा ३ देखि ७ सम्म चिनियाँ भाषाको कक्षा सञ्चालन भइरहेको समेत जानकारी दिए ।
कुमुदिनीले आफ्नो खुसीलाई अन्य विद्यालयहरूसँग पनि साटेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले कास्कीको उत्तरी क्षेत्रका वाराही प्रावि र हिमालय प्राविलाई शैक्षिक सामग्री, पोसाक र खाजा खर्च सहयोग गरेको छ ।
यस्तै, भुर्जुङखोलास्थित माछापुच्छ्रे माविलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के मार्फत पनि थप ६० हजार रुपैयाँ दुई विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
अतिथि र अभिभावकको प्रशंसा
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर सुवेदीले कुमुदिनीले बनाएको अन्तर्राष्ट्रिय छवि जोगाइराख्न र आगामी दिनमा अनुसन्धानात्मक तथा प्रयोगात्मक सिकाईमा थप जोड दिन सुझाव दिए ।
यस्तै, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ आचार्यले आफ्ना तीनै जना सन्तानले यसै विद्यालयमा पढेर उत्कृष्ट नतिजा ल्याई हाल डाक्टर पढिरहेको अनुभव सुनाउँदै विद्यालयको शैक्षिक वातावरणको प्रशंसा गरे ।
अभिभावक डा. सिर्जना खत्रीले छोरीको सफलतामा विद्यालयको उत्प्रेरणा मुख्य रहेको बताइन् । विद्यालय व्यवस्थापन समितिका सदस्य राजबहादुर गुरुङ र प्याब्सनका केन्द्रीय सल्लाहकार वीरबहादुर बुढाथोकीले कुमुदिनीलाई गण्डकी प्रदेशकै एक ‘चम्किलो नक्षत्र’को रूपमा चित्रण गरे ।
सह-प्राचार्य मन बहादुर भुजेलको समापन मन्तव्य र शिक्षक सुरेन्द्र सदिच्छाको सञ्चालनमा भएको कार्यक्रममा कक्षा १२ की विद्यार्थी इरिन गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । हाल साढे १२ सय विद्यार्थी अध्ययनरत यस विद्यालयले आफ्नो ३९ वर्षे यात्रामा मुलुकलाई दक्ष पाइलट, अभिनेता, बैंकर र चिकित्सकहरू उपहार दिइसकेको छ ।


