
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारी र राजनीतिक सहकार्यलाई समानान्तर रूपमा अघि बढाएको जनाएको छ। रास्वपाका केन्द्रीय सचिवालय सदस्य तथा उच्चस्तरीय वार्ता समितिका उपसंयोजक शिशिर खनालले पार्टी आगामी निर्वाचनपछि देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्।
शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले रास्वपाको नीति स्पष्ट पार्दै पुराना दलहरूसँग चुनावी गठबन्धन नगर्ने तर नयाँ र समान विचार भएका दलहरूसँग सहकार्य र गठबन्धनको सम्भावना खुला रहेको बताए।
“हाम्रो पुराना दलहरूसँग चुनावी गठबन्धन हुँदैन,” खनालले भने, “तर नयाँ, विचार मिल्ने दलहरूसँग सकेसम्म एकता र तत्काल सम्भव नभए चुनावी सहकार्य हुन सक्छ।”
उनले भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग सहकार्यका विषयमा निरन्तर छलफल भइरहेको जानकारीसमेत दिए। यसले आगामी दिनमा नयाँ राजनीतिक समीकरणको संकेत गरेको विश्लेषण गरिएको छ।
पत्रकार सम्मेलन गण्डकी प्रदेशका समानुपातिक उम्मेदवार छनोट प्रक्रियाबारे जानकारी दिन आयोजना गरिएको थियो। खनालका अनुसार गण्डकी प्रदेशबाट ४३ जना समानुपातिक उम्मेदवार सूचीकृत भएका छन्। देशभरबाट भने कुल २३० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
“यही सूचीबाट गण्डकीबाट १३ जना र देशभरबाट ११० जना उम्मेदवार छनोट गरिनेछ,” उनले स्पष्ट पारे।
समानुपातिक उम्मेदवारहरूको दाबी–विरोधका लागि पुस ३ र ४ गते समय तोकिए पनि गण्डकी प्रदेशमा कसैविरुद्ध पनि उजुरी नपरेको जनाइएको छ। शनिबार उम्मेदवारहरूबीच छलफल गरी अन्तिम नामावली प्रकाशन गरिएको छ। पुस ६ देखि ११ गतेसम्म उम्मेदवारीका विभिन्न चरण पार गरिनेछ भने पुस १२ र १३ गते एपमार्फत प्राइमरी निर्वाचन हुनेछ।
रास्वपाका गण्डकी प्रदेश सभापति राजन गौतमका अनुसार प्राइमरी निर्वाचनका विजेताहरूलाई समेटेर पुस १४ गते उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाइनेछ।
नयाँ अनुहार, प्रविधिमा आधारित छनोट प्रक्रिया र पुराना राजनीतिक अभ्यासबाट फरक मार्ग अपनाएको रास्वपाको तयारीले आगामी निर्वाचनलाई थप रोचक बनाउने देखिएको छ।
