
पोखरा। पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) का २५ औं ब्याचका विद्यार्थीहरूले यस वर्षको ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ आयोजना गर्न लागेका छन्। कार्यक्रम पुस २६ शनिबार हुने जनाइएको छ।
आयोजक समितिका अध्यक्ष विवेक महतका अनुसार फुड फेष्टिवलमा विभिन्न प्रकारका खानाका स्टल, पेय पदार्थ, भेगन (प्लान्ट बेस) फुड, साथै बार टेन्डरिङ फेलरि पनि रहनेछ।
फेष्टिवलमा समिर श्रेष्ठ, केहारसिंह लिम्बु जस्ता कलाकारको ब्याण्ड प्रस्तुतीका साथै कलेजका विद्यार्थी र स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछ।
कार्यक्रममा सहभागी हुन सशुल्क टिकट व्यवस्था गरिएको छ। अनलाइन टिकट ‘रेभेल’ मार्फत उपलब्ध हुनेछ भने आयोजक टिमका सदस्यबाट पनि टिकट खरिद गर्न सकिनेछ।
अध्यक्ष महतले भने, “कार्यक्रमलाई भव्य र सभ्य बनाउन १४ सदस्यीय मूल आयोजक समिति सक्रिय छ र क्याम्पस प्रमुख प्रकाश रेग्मी तथा सहायक क्याम्पस प्रमुख राजकुमार कार्कीको निरन्तर सहयोग छ।”
आयोजकहरूले फुड फेष्टिवल पश्चात वातावरण संरक्षणमा सहयोग गर्ने उद्देश्यका साथ ‘प्लेट फर प्लान्ट’ योजना पनि सञ्चालन गर्ने बताए।
फेष्टिवलले स्वाद, मनोरञ्जन र सामाजिक उत्तरदायित्व सबैलाई एउटै प्लेटमा प्रस्तुत गर्ने विश्वास लिएको आयोजक समितिले जनाएको छ।
