
पोखरा । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नै जन्मथलोबाट उम्मेदवार बन्न आग्रह गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीको क्षेत्रीय कमिटी बैठकले प्रचण्डको एकल नाम सर्वसम्मत सिफारिस गरेको हो । प्रचण्डले चुनाव लड्न इच्छा नदेखाएर अन्य १५ जना प्रतिस्पर्धामा छन्।
कास्कीको ढिकुरपोखरीमा जन्मिएका दाहालले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र १० र रोल्पा क्षेत्र २ बाट चुनाव जितेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने उनी काठमाडौं क्षेत्रमा १० मा पराजित हुन पुगे पनि सिराहा ५ बाट निर्वाचित भएका थिए ।
२०७४ सालमा चितवन क्षेत्र ३ र २०७९ मा गोरखा क्षेत्र २ बाट प्रचण्डले चुनाव जितेका थिए । कास्की क्षेत्र ३ बाट विभिन्न पार्टी समाहित भएका कारण उम्मेदवार सिफारिस सोहीअनुसार भएको छ । ‘औपचारिक, अनौपचारिक भेटघाटमा प्रचण्डलाई कास्की ३ बाट चुनाव लडिदिनुप¥यो भनेर आग्रह गरिएको छ । अहिले पनि जन्मथलोले सर्वसम्मत उहाँलाई बोलाएको छ,’ केन्द्रीय सदस्य रामजीप्रसाद बराल ‘जीवन’ भन्छन्, ‘हाम्रो आग्रह मानिदिनुहुनेछ भन्ने विश्वास छ । यदि उहाँ आउनुभएन भने अरु धेरैले आकांक्षा देखाएका छन् ।’
प्रचण्ड कास्की नआए उनकी बुहारी सिर्जना त्रिपाठीसहितका नेताहरुले आकांक्षा देखाएका छन् । त्रिपाठी प्रकाश दाहालपत्नी हुन् । केन्द्रीय सदस्यहरू रामजी बराल ‘जीवन’, दुर्गा विक, एकीकृत समाजवादीका तत्कालीन प्रदेश संयोजक कृष्ण नेपाली, क्षेत्रीय संयोजक भीम क्षितिज, रत्नकुमारी गुरुङ, गोविन्दप्रसाद अधिकारी, भानुभक्त अधिकारी, भोजराज पौडेल, बलराम सुवेदी, प्रेम पौडेल र गणेश आचार्य पनि उम्मेदवार आकांक्षीका रुपमा सिफारिस भएका छन् ।
यस्तै, शरणसिंह विश्वकर्मा, सुमन ढुंगाना र प्रसन्न अधिकारीलाई पनि उम्मेदवार सिफारिस गरिएको छ । शरण, सुमन र प्रसन्न जेनजी क्लष्टरबाट उम्मेदवार सिफारिस हुन् । जिल्ला कमिटीमा सबै आकांक्षीको नाम पठाइएको भए पनि उम्मेदवारको अन्तिम टुंगो केन्द्रले लगाउनेछ ।
उता, कास्की क्षेत्र १ बाट पनि उम्मेदवार आंकाक्षी सिफारिस भएका छन् । नेताहरु दीपक कोइराला, राजकाजी गुरुङ (करण), श्रीनाथ बराल, विश्वप्रकाश लामिछाने, तेजकुमारी पौडेल, गायत्री गुरुङ, बखानसिंह गुरुङ, डिलु पन्त, सुमन सुवेदीलगायतको नाम जिल्लामा सिफारिस गरिएको हो ।
यस्तै, कास्की क्षेत्र २ बाट हेमबहादुर थापा (किरण), सुदर्शन पराजुली, इमरान खान, रुद्र गौतम, रुद्रबहादुर विक, बमबहादुर कार्की, गुणराज बास्तोला, श्रीनाथ बराल, मोहनबहादुर बस्नेत, मदन आचार्य र सुमन देवकोटालगायतको नाम सिफारिस भएको छ ।
