
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ सैतिखोलामा अवस्थित श्री गौरीशंकर मनिलाल माध्यमिक विद्यालयको ५४औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख तामाङको अध्यक्षता तथा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले विद्यालय स्थापनादेखि अहिलेसम्म योगदान पु¥याउने सबैप्रति आभार व्यक्त गरे। उनले सामुदायिक विद्यालयको स्थायित्वसँगै शैक्षिक गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
विद्यालयमा खेलकुद मैदानको अभाव रहेको उल्लेख गर्दै उनले आगामी दिनमा खेलमैदान व्यवस्थापनका लागि पालिकाबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। उपाध्यक्ष सीता अधिकारीले शिक्षालाई पालिकाले उच्च प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर पहल गर्दै आएको बताइन्।
शिक्षामा आमूल परिवर्तन ल्याउन शिक्षक, अभिभावक, विद्यार्थी, सामाजिक व्यक्तित्व, राजनीतिक दल तथा शिक्षा प्रेमीहरू एकताबद्ध हुनुपर्नेमा उनको जोड दिइन्। आफ्नै अध्ययन गरेको विद्यालयको कार्यक्रम भएकाले बाल्यकालका स्मृतिहरू पनि उनले साझा गरिन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रक्ष बहादुर क्षेत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आय-व्यय विवरण, शैक्षिक सुधारका प्रयास तथा भावी योजनाबारे जानकारी दिए। पछिल्लो समय कक्षा ८ देखि १० सम्म तीनवटा स्मार्ट बोर्ड जडान गरी प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिइएको र आगामी दिनमा अन्य कक्षामा समेत विस्तार गर्ने लक्ष्य रहेको उनले बताए।
वार्षिकोत्सव समारोहमा सामाजिक विकास समिति संयोजक एवं वडा नं.९ का अध्यक्ष हरि बहादुर क्षेत्री, वडा नं. ५ का अध्यक्ष नारायण प्रसाद पौडेल, पृथ्वीनारायण क्याम्पस शिक्षा संकाय अंग्रेजी शाखा प्रमुख युवराज दवाडी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष गौरी प्रसाद दाहाल, मनीलाल प्रतिष्ठान अध्यक्ष तथा वडा सदस्य रामहरि गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका प्रमुख लेखनाथ गौतम, अक्षयकोषदाता सूर्य बहादुर योञ्जन, पूर्व विद्यार्थी प्रज्वलन क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रमका अवसरमा विद्यालयको बृहत्तर विकासमा योगदान पु¥याउने शिक्षक-कर्मचारी, अभिभावक, पूर्व विद्यार्थी, अक्षयकोषदाता र जग्गादातालाई सम्मान गरिएको थियो। साथै विभिन्न अक्षयकोषद्वारा स्थापना गरिएका छात्रवृत्ति वितरण, सर्वोत्कृष्ट नतिजा पुरस्कार, दीर्घ सेवा सम्मान तथा शैक्षिक र अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघका पदाधिकारी, पूर्व विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थी निलम गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक मीनराज पौडेलले गरेका थिए ।

