
पोखरा । पर्यटन राजधानी पोखराको पामे क्षेत्रमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ। अटोमोबाइल एसोसिएसन गण्डकी, जियोन ओभरल्यान्ड र मोटरभर्स स्पोर्ट्स क्लब को संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिप ड्राइभ टुरिजम प्रवर्द्धन र सडक सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।
च्याम्पियनसिपमा ४ महिलासहित ३६ जना कार राइडर को उत्साहजनक सहभागिता रहेको थियो। मोटर स्पोर्ट्सको प्रमुख विधामध्ये पर्ने अटोक्रस अन्तर्गत सहभागीहरूले माटो, ग्राभेल र पिच ट्र्याकमा ‘टाइम-अट्याक’ शैलीमा प्रतिस्पर्धा गर्दै आफ्नो कौशल प्रदर्शन गरेका थिए। यस खेलमा राइडरको ड्राइभिङ स्किल, रणनीति र सटीकता निर्णायक हुने आयोजकले जनाएका छन्।
आयोजकका अनुसार च्याम्पियनसिपले पोखरामा साहसिक खेल पर्यटनको नयाँ आयाम उजागर गर्नुका साथै युवालाई सुरक्षित ड्राइभिङतर्फ प्रेरित गरेको छ। यस्ता कार्यक्रमले खेल र पर्यटनलाई जोड्दै पोखराको पहिचान थप बलियो बनाउने विश्वास आयोजकको छ।
यसअघि च्याम्पियनसिपको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले साहसिक खेल पर्यटनको प्रवर्द्धन र विकासमा यस्ता प्रतियोगिताले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा अझ मजबुत बनाउन निजी क्षेत्र, युवा शक्ति तथा पर्यटनसँग सम्बन्धित संघ-संस्थाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। “साहसिक खेलमार्फत पोखराको पर्यटनलाई विश्व बजारमा चिनाउन यस्ता कार्यक्रम अत्यन्त उपयोगी छन्,” मेयर आचार्यले भने।च्याम्पियनसिपले खेल, पर्यटन र सडक सुरक्षा सचेतनालाई एकै साथ अघि बढाएको भन्दै सहभागी र दर्शकले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्।
