
काठमाडौं। बिहीबार बेलुकासम्म सहमतिमा पुगेको रवि-बालेन एकता हस्ताक्षर र घोषणाको समय कुर्दा कुर्दै भाँडिने चरणमा पुगेको छ। रास्वपाको चुनावी प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेर सहमतिमा हस्ताक्षर गर्ने मिति शुक्रबारका लागि तय भएपछि बालेन समूहले अघि सारेको काउन्टर मागले यस्तो अवस्था सृजना भएको नेताहरूले सिधाकुरालाई बताए।
शुक्रबारका लागि तय भएको हस्ताक्षर सरेर शनिवार पुगेको तर शनिवार दुई पक्षबीच भेट वार्ता नै नहुने अवस्था सृजना भएको स्रोतले सिधाकुरालाई बतायो । ‘बिहीबार बेलुकासम्म सबै ठिकै थियो, शुक्रबार सामान्य कुराकानी गरेर सम्झौताको तयारी थियो। जसमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) रास्वपाकातर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने र उनले भनेका राम्रा मान्छेहरूलाई निर्वाचनमा सहभागी गराउने,’स्रोतले सिधाकुरासँग भन्यो,‘तर,उहाँहरुले अचानक पार्टीको पदाधिकारी देखि निर्वाचनसम्म नै प्रतिशतमा हिस्सेदारी माग्नुभयो ।’
नेताहरुकाअनुसार प्रतिशत कति भनिएको छैन् तर पदाधिकारी, केन्द्रिय समिति लगायतका पार्टी संरचना र निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा पनि प्रतिशतमै बालेन समूहले हिस्सेदारी खोजे ।
छलफलमा सहभागी रास्वपा नेताकाअनुसार बालेन र जेनजीका राम्रा मान्छेलाई बालेनकै सिफारिसमा पार्टी र निर्वाचन प्रक्रियामा सहभागी गराउन रास्वपा तयार थियो । तर, प्रतिशतमा जस्तो पनि मान्छे पार्टी र निर्वाचनमा छिराउने कुरा रास्वपालाई मान्य छैन ।
रास्वपासँग वार्तामा रहेका बालेन पक्षले पनि शनिबारका लागि रास्वपा सभापति रविसँगको भेट अनिश्चित भएको सिधाकुरालाई बतायो । उनीहरूले आफुहरुले राखेको मागबारे भने खुल्न चाहेनन्।
