
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको नयाँ राजनीतिक नेतृत्व प्रस्तावलाई उज्यालो नेपाल पार्टीले अस्वीकार गरेको छ। प्रस्तावमा रास्वपाका सभापतिका रूपमा रवि लामिछाने, वरिष्ठ नेताका रूपमा कुलमान घिसिङ तथा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सार्ने योजना समेटिएको थियो।
उक्त प्रस्तावबारे उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले पार्टी बैठकमा विस्तृत ब्रिफिङ गरेका थिए। ब्रिफिङपछि भएको आन्तरिक छलफलमा पार्टीले प्रस्तावका आधारमा अघि बढ्न नसकिने निष्कर्ष निकालेको हो।
पार्टी स्रोतका अनुसार प्रस्तावमा उल्लेख गरिएको नेतृत्व संरचना, शक्ति सन्तुलन र भावी राजनीतिक कार्यदिशाबारे स्पष्टता नआएकाले सहमति गर्न नसकिएको हो। त्यसपछि उज्यालो नेपाल पार्टीले औपचारिक रूपमा रास्वपाको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको बताइएको छ।
जसमा उज्यालो नेपाल पार्टीले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव अस्वीकार गरेको स्रोतको भनाइ छ ।
पार्टीको नाम, चुनाव चिन्ह, सभापति, प्रधानमन्त्री सबै रास्वपाबाट हुने भएपछि उज्यालो पार्टीले प्रस्ताव अस्वीकार गरेको हो । शनिबार दिउँसो १ बजेदेखि साझ ५ बजेसम्म बौद्धको एक होटलमा बसेको उज्यालो पार्टीको बैठका संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले रास्वपाको प्रस्तावबारे ब्रिफिङ गरेका थिए ।
रास्वपाले अघि सारेको उक्त प्रस्तावलाई वैकल्पिक राजनीतिक गठबन्धनको सम्भावित आधारका रूपमा हेरिएको भए पनि उज्यालो नेपाल पार्टीको निर्णयसँगै उक्त प्रयास तत्कालका लागि रोकिएको विश्लेषकहरूको भनाइ छ। यस घटनाक्रमले आगामी राजनीतिक समीकरण र वैकल्पिक शक्ति निर्माणको बहसलाई थप चर्काउने संकेत देखिएको छ।
