लेखनाथ पत्रकारिता पुरस्कार कविराज खनाललाई, शेर विष्णु पत्रकारिता पुरस्कार स्मीता अधिकारी तिवारीलाई

Share:

पोखरा । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार २०८१ यस वर्ष आदर्श समाज राष्ट्रिय दैनिक तथा सार्वजनिक प्रसारण सेवा रेडियो नेपालका संवाददाता कविराज खनाललाई प्रदान गरिने भएको छ ।

लेखनाथ क्षेत्रमा रहेर कम्तीमा १० वर्ष पत्रकारितामार्फत स्थानीय विकास, सामाजिक रूपान्तरण र पहिचान निर्माणमा योगदान पुर्‍याएका सञ्चारकर्मीलाई प्रदान गरिँदै आएको उक्त पुरस्कार खनाललाई ११ हजार १ सय ११ रुपैयाँ नगद तथा सम्मानपत्र सहित प्रदान गरिने मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, सचिव रामशरण नेपाली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, पूर्व पुरस्कृत बासुदेव पौडेल तथा स्थापनाकालीन अध्यक्ष भीमपाणि बराल सदस्य रहेको छनौट समितिले खनाललाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

तनहुँको शुक्लागण्डकी-२ मा जन्मिएका खनाल हाल पोखरा-३२ तल्लो गगनगौडामा बसोबास गर्दै आएका छन् । दुई दशकअघि आदर्श समाज राष्ट्रिय दैनिकबाट पत्रकारिता यात्रा सुरु गरेका उनले करिब एक दशक सगरमाथा टेलिभिजनमा संवाददाताका रूपमा समेत काम गरिसकेका छन् । कृषि, सामाजिक न्याय, सुशासन, पर्यटन, वातावरण, कला-साहित्य र खेलकुदलगायत विविध विषयमा कलम चलाउँदै आएका खनाल लेखनाथ पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्षसमेत हुन् ।

वि.सं. २०७३ देखि निरन्तर प्रदान हुँदै आएको यो पुरस्कार यसअघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल, सरिता तिमिल्सेना, दीपक परियार र ऋषिकान्त पौडेलले प्राप्त गरिसकेका छन् ।

शेर विष्णु पत्रकारिता पुरस्कार स्मीता अधिकारी तिवारीलाई

यसैगरी, शेर विष्णु पत्रकारिता पुरस्कार २०८१ अन्नपूर्ण पोष्टको अंग्रेजी संस्करण दि अन्नपूर्ण एक्सप्रेसकी पोखरा संवाददाता स्मीता अधिकारी तिवारीलाई प्रदान गरिने भएको छ ।

गत वर्ष पोखरा-३० निवासी शेरबहादुर तथा विष्णुमाया गुरुङद्वारा स्थापना गरिएको उक्त पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । वि.सं. २०६३ मा हिमचुली एफएमबाट पत्रकारिता यात्रा सुरु गरेकी तिवारी हाल पोखरा-३१ मोहोरियामा बसोबास गर्दै आएकी छन् । उनले पोखराका विभिन्न सञ्चार माध्यममा रहेर सक्रिय पत्रकारिता गर्दै आएकी छन् ।

अक्षयकोषदाता हाल विदेशमा रहेकाले उनको अनुपस्थितिमा सोही छनौट समितिले तिवारीलाई पुरस्कारका लागि छनौट गरेको हो । गत वर्ष उक्त पुरस्कारबाट पत्रकार दीपक परियार सम्मानित भएका थिए ।

दुवै पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसरमा आयोजित मूल समारोह अर्घौ अर्चलेमा प्रदान गरिने कार्यक्रम रहेको मञ्चले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: