बालेन शाहको प्रस्ताव अस्वीकार गर्दै आशिका तामाङले भनिन्- समानुपातिक होइन, प्रत्यक्ष निर्वाचन नै लड्छु

Share:

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रस्ताव गरेका छन्।

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने म्याद नजिकिँदै गर्दा दलहरूलाई दबाब बढेको छ। यही सन्दर्भमा आइतबार दिनभर मेयर शाहले समानुपातिकका आकांक्षी तथा आफूले प्रस्ताव गरेका व्यक्तिहरूसँग छलफल गरेका थिए। सोही क्रममा आशिका तामाङसँग पनि छलफल भएको हो।

तामाङका अनुसार आइतबार साँझ बालेन शाह निकट टिमसँग भएको छलफलमा मेयर शाह स्वयं उपस्थित थिए। “मैले भर्खरै छलफल गरेर आएँ। मेयर साब पनि हुनुहुन्थ्यो। उहाँले समानुपातिकमा उम्मेदवार बन्न प्रस्ताव गर्नुभयो,” तामाङले भनिन्।

तर तामाङ समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचनप्रति बढी इच्छुक देखिएकी छन्। बालेनसँग छलफल गर्नुअघि उनले सामाजिक सञ्जालमार्फत पोल राखेर जनमत बुझ्ने प्रयास गरेकी थिइन्। उक्त पोलमा ९२ प्रतिशत मतदाताले प्रत्यक्ष निर्वाचनमै उम्मेदवारी दिन सुझाव दिएका थिए।

“भोटिङ पोल राखेकी थिएँ। ९२ प्रतिशतले प्रत्यक्षमै उठ्दा ठीक हुन्छ भन्नुभयो,” उनले भनिन्, “त्यसैले अहिलेको सल्लाह प्रत्यक्ष निर्वाचन लड्ने नै छ। तर, कहाँबाट उठ्ने भन्ने चाहिँ अझै टुंगो लागेको छैन।”

सामाजिक अभियानमार्फत चर्चामा आएकी तामाङको सम्भावित उम्मेदवारीले आगामी निर्वाचनमा नयाँ बहस र चासो थपिने संकेत देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: