‘द कन्टेन्डर फाइट सिरिज-३’: मुख्य इभेन्टमा सुस्मिता थापा मगर विजयी, ८० हजार पुरस्कार हात पारिन्

Share:

पोखरा । साक यान्त मुवाथाईको आयोजनामा पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज–३’ अन्तर्गत महिला मुवाथाई मुख्य इभेन्टमा गण्डकी प्रदेशकी खेलाडी सुस्मिता थापा मगर विजयी भएकी छन्।

सुस्मिताले भारतकी सरिता राठोर लाई पराजित गर्दै नगद ८० हजार रुपैयाँ पुरस्कार जितेकी हुन्। यो जितसँगै सुस्मिताले एक वर्षभित्र नवौँ उपाधि हात पार्दै उल्लेखनीय कीर्तिमान कायम गरेकी छन्। तेक्वान्दोकी खेलाडीसमेत रहेकी सुस्मिताले एक वर्षमै ९ वटा प्रोफेसनल फाइट जित्नु विरलै हुने उपलब्धि भएको आयोजकले जनाएको छ।

यसैगरी, एमएमए पुरुष मुख्य इभेन्टमा जेनित शेरचन ले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गरे।

तीन देशका ४८ फाइटरको सहभागिता

प्रतियोगितामा नेपाल, भारत र श्रीलंका गरी तीन देशका ४८ जना फाइटर सहभागी थिए। भारतका ८ सहरबाट ११ जना फाइटर सहभागी भएका थिए भने श्रीलंकाबाट १ जना फाइटर सहभागी थिए। बाँकी सबै नेपाली फाइटरहरू थिए।

प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्री का अनुसार कुल २४ फाइट सम्पन्न भएका थिए, जसमध्ये ४ वटा फाइट नकआउट मार्फत टुंगिएका थिए। नकआउट फाइटमार्फत खेलाडीहरूलाई कुल ५५ हजार रुपैयाँ बोनस वितरण गरिएको थियो।

गण्डकी प्रदेशकै पहिलो केज फाइट

मुवाथाई खेलमा नयाँपन ल्याउने उद्देश्यले तेस्रो संस्करणलाई केज फाइट मा आयोजना गरिएको र कार्यक्रम सफल भएको क्षेत्रीले बताए।
“फाइट नाइट आफैँमा रोमाञ्चक खेल हो। पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन प्रवर्द्धनका लागि केज फाइट आयोजना गरेका हौँ,” उनले भने, “सम्भवतः यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हो।”

पोखरामा मुवाथाई र एमएमए खेलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रवेश निःशुल्क गरिएको र दर्शकको उल्लेखनीय उपस्थिति रहेको पनि आयोजकले जानकारी दिए। प्रतियोगितालाई पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, एक्सट्रीम ड्रिङ्क्स र किट्टो जुस लगायतका संस्थाहरूले सहयोग गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: