
पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। कविशिरोमणिको जन्मस्थल पोखरा-२७ अर्चलेमा सम्पन्न समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेखनाथ पौड्यालको जन्मथलो क्षेत्रलाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
मेयर आचार्यले अर्चले क्षेत्र नेपालका धेरै साहित्यिक स्रष्टा जन्मिएको महत्वपूर्ण भूगोल भएको उल्लेख गर्दै यस स्थानलाई व्यवस्थित, आकर्षक तथा साहित्यिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले कविशिरोमणिको पूर्णकदको सालिकसहित संरचना निर्माण गरिएको जानकारी दिए। अन्तर्राष्ट्रिय स्तरमै चिनिएका कविशिरोमणि लेखनाथ पौड्यालको योगदानलाई भावी पुस्तासम्म पुर्याउन यस्ता पहल आवश्यक रहेको उनले बताए।
कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले रचना वाचन गर्दै संघ र प्रदेश सरकारको समेत अपनत्व भएमा यो क्षेत्रलाई सशक्त साहित्यिक केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राखे। साबिक लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिकराम पौडेलले साहित्यले मानसिक आनन्द र ज्ञान दिने भएकाले कविको जन्मथलोका बासिन्दाले गर्वका साथ यसको विकासमा लाग्नुपर्नेमा जोड दिए।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले अर्चले क्षेत्रलाई ‘लेखनाथ साहित्यग्राम’ को रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारे। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, साहित्यकार तथा सम्मानित व्यक्तित्वहरू गंगा कर्माचार्य पौडेल, नवराज अधिकारी, गायक शिवहरि ढुंगाना, शोभाकर घिमिरे, पत्रकार कविराज खनाललगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए।
कविशिरोमणि लेखनाथ जन्मथलो विकास समितिका अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले स्वागत मन्तव्यसहित कविको स्मरणमा रचना प्रस्तुत गरे।
पुरस्कार र सम्मान वितरण
कार्यक्रमका अवसरमा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा लक्ष्मी आदर्श माविकी बलिसा खनाल प्रथम, रिलायन्स पब्लिक स्कुलकी निष्ठा भट्टराई द्वितीय तथा लिटल फ्लावर एकेडेमीकी सुदिक्षा पौडेल तृतीय भइन्। जिसिएका सुरक्षा बराललाई पनि पुरस्कृत गरिएको थियो।
यसै अवसरमा एक लाख रुपैयाँ राशिको लेखनाथ साहित्य पुरस्कार साहित्यकार घनश्याम कँडेललाई प्रदान गरियो। स्वास्थ्य समस्याका कारण उनी कार्यक्रममा उपस्थित हुन सकेनन्। कविशिरोमणिकी कान्छी छोरी कुन्तिदेवी भट्टराईको परिवारद्वारा स्थापित उक्त पुरस्कारको राशि यस वर्ष वृद्धि गरिएको हो।
त्यसैगरी, २५ हजार रुपैयाँ राशिको कुन्तिदेवी साहित्य पुरस्कार साहित्यकार गंगा कर्माचार्य पौडेललाई र लेखनाथ सांस्कृतिक पुरस्कार साहित्यकार नवराज अधिकारीलाई प्रदान गरियो। लेखनाथ साहित्य प्रतिष्ठान अध्यक्ष पदमराज ढकालद्वारा आफ्ना पिता चन्द्रकान्त ढकालको स्मृतिमा स्थापित सांस्कृतिक पुरस्कार पनि प्रदान गरिएको छ।
साथै, मधुमाया ढकाल शिक्षा पुरस्कार जनज्योति मावि कालिकाकी एसइई-२०८१ की उत्कृष्ट छात्रा स्वेच्छा खड्कालाई प्रदान गरियो। कुन्तिदेवी छात्रवृत्तिअन्तर्गत लेखनाथ आधारभूत विद्यालय र कविशिरोमणि लेखनाथ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको थियो।
कार्यक्रमले कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण गर्दै उनको जन्मथलोको संरक्षण र विकासप्रति सबै पक्षको ध्यानाकर्षण गराएको आयोजकले जनाएका छन्।



