मौसम प्रतिकूलताका कारण विद्युत सटडाउन स्थगित

Share:

पोखरा । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले पूर्वनिर्धारित विद्युत सटडाउन तालिका तत्कालका लागि स्थगित गरेको छ । पोखरा ग्रिड महाशाखा अन्तर्गत पर्ने कुँडहर १३२ केभी सबस्टेसनमा बसबार अपग्रेडेसनका लागि तय गरिएको विद्युत कटौती प्रतिकूल मौसमका कारण रोकिएको हो ।

प्राधिकरणले पुस १८ गतेदेखि पुस २० गतेसम्म दैनिक बिहान ६ः३० बजेदेखि ११ः०० बजेसम्म १३२ केभी बसबार तथा सम्पूर्ण ११ केभी फिडरहरू सटडाउन गर्ने तालिका सार्वजनिक गरेको थियो ।

सोअनुसार शुक्रबार करिब ११ बजे मर्मत कार्य सम्पन्न गरी लाइन सुचारु गर्ने क्रममा प्रतिकूल मौसमका कारण विद्युत भार अत्यधिक बढ्दा सम्पूर्ण ११ केभी फिडरहरूमा प्राविधिक समस्या देखिएको पोखरा वितरण केन्द्रले जनाएको छ ।

अत्यधिक लोडका कारण पावर ट्रान्सफर्मर समेत ओभरलोड भई ‘ट्रिप’ भएपछि थप जोखिम नहोस् भनेर मर्मत तथा अपग्रेडेसन कार्य केही दिनका लागि स्थगित गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, “मौसम अनुकूल भएपछि नयाँ कार्यतालिका सार्वजनिक गरी उक्त अपग्रेडेसन कार्य पुनः सञ्चालन गरिनेछ ।” साथै, सटडाउन स्थगितका कारण ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ ।

मौसममा पूर्ण सुधार आएपछि मात्र नयाँ तालिका सार्वजनिक गरेर कुँडहर १३२ केभी सबस्टेसनको बसबार अपग्रेडेसन काम अघि बढाइने पोखरा वितरण केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: