
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८० हजार नेपाली सैनिक परिचालन गरिने भएको छ । निर्वाचन आयोगले मतदान केन्द्रको टुंगो लगाएसँगै नेपाली सेनाले देशभर जनशक्ति परिचालनको विस्तृत योजना तयार गरेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको स्वीकृत कुल दरबन्दी ९६ हजारमध्ये ९५ प्रतिशत जनशक्ति निर्वाचन सुरक्षामा खटाइनेछ । “निर्वाचनका लागि राष्ट्रपतिबाट पहिल्यै स्वीकृति प्राप्त भइसकेको छ । त्यसपछि सेना आवश्यक तयारीमा जुटेको हो,” उनले भने ।
हाल सेनाले निर्वाचन केन्द्रित सुरक्षा बेस स्थापना गर्ने काम सुरु गरिसकेको छ । “निर्वाचनपूर्वका गतिविधि चलिरहेका छन्,” प्रवक्ता बस्नेतले भने, “तालिम, अन्य सुरक्षा निकायसँग संयुक्त अभ्यास, जिल्लास्तरको समन्वयजस्ता काम भइरहेका छन् । फिल्डमा नखटिए पनि चुनाव केन्द्रित सुरक्षा योजनामा सेना सक्रिय छ ।”
एकीकृत सुरक्षा योजना अनुसार सेना निर्वाचनभन्दा एक महिना अघि मात्रै फिल्डमा खटिनेछ । सोही अवधिमा देशभर बेस स्थापना गरेर सुरक्षा जिम्मेवारी सम्हाल्ने सेनाको तयारी छ ।
विमानस्थल र कारागारको सुरक्षा सेनाको जिम्मा
निर्वाचन अवधिभर देशभरका सबै विमानस्थल र कारागारको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिनेछ । हाल ती स्थानमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्न सेनालाई जिम्मेवारी हस्तान्तरण गरिनेछ । यस्तै, प्रतिष्ठान तथा अन्य संवेदनशील स्थानमा खटिएका प्रहरी जनशक्तिलाई पनि चुनावी सुरक्षामा प्रयोग गर्न ती क्षेत्रको जिम्मा निर्वाचनभन्दा एक महिना अघि सेनाले सम्हाल्नेछ ।
एकीकृत सुरक्षा योजना अनुसार यसपटक पनि नेपाली सेना तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ । “सेनाको भूमिका परिवर्तन भएको छैन,” प्रवक्ता बस्नेतले भने, “परिस्थिति अनुसार सुरक्षा व्यवस्थापन मिलाउने जिम्मेवारी सबै सुरक्षा निकायको साझा हुन्छ ।”
हरेक जिल्लाले आवश्यक पर्ने सैनिक जनशक्तिको योजना बनाइसकेका छन् । गणहरूले सो योजना अनुसार बाहिनीमा रिपोर्ट गर्नेछन् । कुनै जिल्लामा जनशक्ति अपुग भए अन्य जिल्लाबाट माग गरिने व्यवस्था गरिएको छ ।
बाहिनीले आफ्नो क्षेत्रभित्र जनशक्ति व्यवस्थापन गर्नेछन् । त्यहाँबाट पनि व्यवस्थापन हुन नसके पृतनामार्फत समन्वय गरिनेछ । प्रत्येक पृतनाले आफ्नो क्षेत्रको सम्पूर्ण सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी पाउनेछन् ।
निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी पाँचवटा प्रदेशमा सम्पन्न भइसकेको छ । अब मधेस र बागमती प्रदेशमा गोष्ठी हुन बाँकी छ । गोष्ठीमा नेपाली सेना, प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्लास्थित प्रमुखहरू सहभागी भएका छन् ।
यता, निर्वाचन आयोगले शुक्रबारदेखि मतदाताको नामावली छाप्न थालेको छ । राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाइसकेका छन् । आयोगले सूची रुजु गरिरहेको छ । समानुपातिक प्रणालीतर्फ ६४ राजनीतिक दलले ५८ वटा चुनाव चिन्हमार्फत प्रतिस्पर्धा गर्नेछन् ।
