त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातक प्रथम वर्षका विद्यार्थीलाई भव्य स्वागत

Share:

पोखरा। त्रिवेणी इन्टरनेशनल कलेज, लेखनाथले स्नातक तह प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गरी स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कलेजको विद्यार्थी कल्याणकारी समितिको आयोजनामा सम्पन्न कार्यक्रममा शैक्षिक जिम्मेवारी र अनुशासनमा जोड दिइएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दर्गाप्रसाद सुवेदीले विद्यार्थीको अध्ययनसँग अभिभावक र कलेजको सपना जोडिएको उल्लेख गर्दै अध्ययनमा गम्भीर र जिम्मेवार बन्न आग्रह गरे।

फरक-फरक विद्यालयबाट २ अध्ययन गरेर आएका विद्यार्थीहरू स्नातक तहमा प्रवेश गरेसँगै थप परिपक्वता र उत्तरदायित्व वहन गर्नुपर्ने उनको भनाइ थियो। वडा अध्यक्ष सुवेदीले लेखनाथ क्षेत्रमा दुई वटा विश्वविद्यालय रहे तापनि निजी क्षेत्रबाट सञ्चालित त्रिवेणी कलेजप्रति विद्यार्थीको आकर्षण बढ्नु व्यवस्थापनको गुणस्तरका कारण सम्भव भएको बताए।

कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले अभिभावकको विश्वास, विद्यार्थीको मेहनत र शिक्षकहरूको समन्वयकै कारण कलेजले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्न सफल भएको उल्लेख गरे। उनले कलेजबाट उत्पादन भएका जनशक्तिको व्यवस्थापनका लागि लेखनाथ क्षेत्रका विभिन्न संघ-संस्थासँग सहकार्य भइरहेको जानकारी दिए। साथै, नवआगन्तुक विद्यार्थीका समस्या समाधानमा कलेज सदैव सहकार्य गर्दै गुणस्तरीय शिक्षामा विशेष जोड दिइएको बताए।

विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष विवेक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेज सञ्चालक समितिका पूर्वअध्यक्ष बाबुराम गिरी, निर्वतमान क्याम्पस प्रमुख यदुराज आचार्य, कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतम, उपाध्यक्ष स्वच्छन्द आत्रेय, अमिसा तिवारीलगायतले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै अध्ययनप्रति जिम्मेवार र अनुशासित बन्न आग्रह गरेका थिए।

कार्यक्रममा स्नातक तहका विद्यार्थीहरूले गीत-संगीत तथा सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय कविता भट्टराई र विनोद बीकेले गरेका थिए।

विविएस कार्यक्रम अध्यापन हुँदै आएको त्रिवेणी इन्टरनेशनल कलेजमा यस वर्ष स्नातक तहमा २१७ जना नयाँ विद्यार्थी भर्ना भएका छन्। हाल कलेजमा स्नातक र स्नातकोत्तर तहमा गरी ६ सय ४९ जना विद्यार्थी अध्ययनरत रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: