
पोखरा । नेकपा एमालेले कास्कीका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र कमिटीको शनिबार बसेको बैठकले बहालवाला जनप्रतिनिधिदेखि निवर्तमान सांसदसम्मका नाम केन्द्रमा पठाउने निर्णय गरेको हो। कास्की क्षेत्र नम्बर १ बाट निवर्तमान सांसद मनबहादुर गुरुङसहित आठ जनाको नाम सिफारिस भएको छ। सिफारिस सूचीमा पार्टी जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, दिलीप न्यौपाने, पुष्पज्योति ढुंगाना, टीकाराम पंगेनी, पदमप्रसाद पौडेल, बालासिंह काउचा मगर र नारायणी भट्टराई रहेका छन्।
यसैगरी, कास्की क्षेत्र नम्बर २ बाट पोखरा महानगरपालिका वडा-२१ का वडा सदस्य तथा सार्वजनिक लेखा समिति संयोजक झपट रानाभाटसहित ११ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा केन्द्रीय सदस्य कृष्णबहादुर थापा, प्रभा कोइराला, रश्मी आचार्य, मीना गुरुङ, सञ्जीवबहादुर कोइराला, तेजनारायण अधिकारी, केशव आचार्य, भेषराज बराल, बलराम आचार्य र रामप्रसाद सुवेदी छन्।
उता, कास्की क्षेत्र नम्बर ३ बाट निवर्तमान सांसद दामोदर बैरागीसहित १३ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा देवीप्रसाद सुवेदी, माधव बास्तोला, लक्ष्मण बराल, भोजकुमारी थापा, नन्दलाल अधिकारी, जगतबहादुर विश्वकर्मा, धनबहादुर नेपाली, राजीव पहारी, कर्णबहादुर गुरुङ, सूर्य खड्का (बिखर्ची), डिबी नेपाली र ओमप्रसाद सुवेदी रहेका छन्।
विद्या भट्टराई चुनावी दौडबाट बाहिर
यसैबीच, कास्की-२ बाट दुईपटक सांसद बनेकी एमाले नेतृ विद्या भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट घोषणा गरेकी छन्। पार्टीभित्र ‘हेभिवेट’ मानिने भट्टराईको नाम सिफारिस सूचीमा नपर्नुको कारण स्वयं उनको निर्णय भएको उनले बताइन्।
‘मैले नै छोडेको हो। दुई पटकभन्दा बढी चुनाव लड्दिनँ भनेर पहिले नै घोषणा गरेको थिएँ,’ भट्टराईले भनिन्, ‘तेस्रो पटक चुनाव नलड्ने कुरा २०७९ को निर्वाचनलगत्तै नेताहरूलाई जानकारी गराइसकेको थिएँ।’
उनका अनुसार चुनाव जितिसकेपछि नै पार्टी नेतृत्वलाई आफू तेस्रोपटक उम्मेदवार नबन्ने स्पष्ट संकेत दिइसकेकी थिइन्। ‘दबाब दिएर पनि म मान्दिनँ भन्ने कुरा सबैले बुझ्नुभएको छ,’ उनले भनिन्, ‘अहिले कसैले पनि उम्मेदवार बन्न आग्रहसमेत गरेका छैनन्।’
तत्कालीन पर्यटन मन्त्री तथा उनका पति रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भट्टराई उपनिर्वाचनमार्फत सक्रिय राजनीतिमा फर्किएकी थिइन्। त्यसपछि भएको २०७९ को आमनिर्वाचनमा पनि उनी कास्की-२ बाट सांसद निर्वाचित भएकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेकी भट्टराईले काम गर्ने अनुकूल वातावरण नपाएको भन्दै बीचमै राजीनामा दिएकी थिइन्। पार्टीभित्र अपेक्षित सहयोग नपाएको, घेराबन्दीको अनुभूति भएको भन्दै उनले बारम्बार निष्ठाको राजनीतिमा जोड दिँदै आएकी छन्।
