लुइ जयन्ती तथा विश्व ब्रेल दिवसमा पोखरामा सस्वर ब्रेल पठन प्रतियोगिता

Share:

पोखरा । २१७ औँ लुइ जयन्ती तथा विश्व ब्रेल दिवसको अवसरमा कास्की नेत्रहिन संघको आयोजनामा शनिबार पोखरामा दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीबीच सस्वर ब्रेल पठन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताले दृष्टिविहिन विद्यार्थीको प्रतिभा, आत्मविश्वास र ब्रेल सिपलाई उजागर गरेको छ।

पोखरास्थित अमरसिंह माध्यमिक विद्यालय र कुँडहर आधारभूत विद्यालयका विद्यार्थी सहभागी प्रतियोगिता कक्षा १–६ र ७–११ गरी दुई चरणमा आयोजना गरिएको थियो।

कक्षा १ देखि ६ समूहअन्तर्गत सम्पन्न प्रतियोगितामा अमरसिंह मावि कक्षा ५ का गगन सिंह तामाङ प्रथम र कक्षा ५ कै बिनिशा तामाङ द्वितीय भइन् । त्यस्तै अमरसिंह मावि कक्षा ५ की अस्मिता विक र कुँडहर आवि कक्षा ३ की अञ्जना गुरुबाले संयुक्त रूपमा तृतीय स्थान हासिल गरिन्।

त्यसैगरी कक्षा ७ देखि ११ समूहमा कक्षा ११ का ऋषि लोहोनी प्रथम, कक्षा १० की गौरी देउवा द्वितीय र कक्षा ९ की पूर्णिमा गुरुबा तृतीय भइन्।

कार्यक्रममा पोखरा महानगरपालिका अपाङ्ग सञ्जालका संयोजक गङ्गाबहादुर खड्काले ब्रेल लिपिका आविष्कारक लुइ ब्रेलको योगदानले दृष्टिविहिनहरूलाई ज्ञान र अवसरको उज्यालो संसार देखाएको बताए।

नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य लक्ष्मण सुबेदीले लुइ ब्रेल नभएको भए आफू आजको स्थानसम्म आइपुग्न नसक्ने भावुक अनुभूति व्यक्त गरे। कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले लुइ ब्रेलको योगदान स्मरण गर्दै नेपालमा ब्रेल लिपि भित्र्याउने जङ्गबहादुर बोगटीको ऐतिहासिक योगदानको पनि चर्चा गरे।

दृष्टिविहिनहरूको मातृ लिपि ब्रेललाई कहिल्यै बिर्सन नहुने र यही लिपिका कारण दृष्टिविहिनहरूको शिक्षा सम्भव भएको उनको भनाइ थियो।

अध्यक्ष सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुशिल होदार र सुनिता ज्ञवालीले गरेका थिए। कार्यक्रमले ब्रेल लिपिप्रतिको सम्मान र दृष्टिविहिन विद्यार्थीको क्षमतालाई समाजसामु प्रभावकारी रूपमा प्रस्तुत गरेको आयोजकले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: