
पोखरा। पोखरा जेसिज वर्ष २०२६ का लागि निर्वाचित तथा मनोनित पदाधिकारीहरूको पदस्थापना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेतृत्व हस्तान्तरणसँगै जेसिज अभियानलाई थप सशक्त बनाउने संकल्पसमेत कार्यक्रममा व्यक्त गरिएको थियो।
कार्यक्रममा पोखरा जेसिज वर्ष २०२६ का निर्वाचित अध्यक्ष जेसी सुमन पहारीलाई वर्ष २०२५ का अध्यक्ष भाइराज राना मगरले सपथ ग्रहण गराउँदै पिन तथा चेन हस्तान्तरण गरे। यससँगै पोखरा जेसिजको नेतृत्व औपचारिक रूपमा नयाँ कार्यसमितिमा हस्तान्तरण भएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिज वर्ष २०२६ का अध्यक्ष सेनेटर जीवन कार्कीले जेसिज युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।
कार्यक्रममा जेसिज आस्थापाठ जेसी पवित्र अधिकारी सर्जीले वाचन गरेका थिए भने स्वागत मन्तव्य जेसी सरोज पौडेलले राखेका थिए।
पदस्थापना कार्यक्रममा अतिथिका रूपमा नेपाल कांग्रेस कास्की जिल्ला सभापति किशोरदत्त बराल, नेकपा एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, चेम्बर अफ कमर्स पोखराका अध्यक्ष उमराज बास्तोला, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, नेपाल जेसिज वर्ष २०२६ का पोखरा जेसिजका लागि निरूपित उपाध्यक्ष आरोग्य श्रेष्ठ, निरूपित कार्यकारिणी उपाध्यक्ष स्वपना पौडेल भण्डारी, मादी गाउँपालिकाका अध्यक्ष देविजङ्ग गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेलगायत स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन पोखरा जेसिज वर्ष २०२६ का महासचिव जेसी सञ्जय पौडेलले गरेका थिए। कार्यक्रमले पोखरा जेसिजमार्फत युवाको नेतृत्व, उद्यमशीलता र सामाजिक सेवाका गतिविधिलाई नयाँ ऊर्जा र दिशानिर्देश प्रदान गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
