
पोखरा । आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कास्की जिल्लामा २ हजार ३०३ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना प्रक्रिया सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीअन्तर्गत निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समितिले एकीकृत सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
सरकारद्वारा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि-२०८२ अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमार्फत निर्वाचन प्रहरी नियुक्त गरिनेछ ।
इच्छुक उम्मेदवारले आजदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म (सार्वजनिक बिदासमेत) दरखास्त दिन सक्नेछन् । दरखास्त फाराम जिल्ला प्रहरी कार्यालय गैहापाटन, कास्की तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, मालेपाटन, पोखरा बाट प्राप्त गरी सोही कार्यालयमा बुझाउनुपर्नेछ ।
दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक योग्य हुनेछन् । साधारण लेखपढ गर्न जान्ने, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, कुनै फौजदारी अभियोगमा सजाय नपाएका र कुनै राजनीतिक दलको सदस्य नरहेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।
भर्नामा पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पूर्व वन रक्षक, विगत निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक सेवा दिएका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायबाट अवकाश प्राप्त नेपाली नागरिकलाई प्राथमिकता दिइनेछ ।
पुरुषको हकमा न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ । महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी तोकिएको छ । महिलाको हकमा गर्भवती नभएको हुनुपर्नेछ ।
छनौट तालिका
सम्पर्क मिति: २०८२ माघ ४ गते बिहान ११ बजे
छनौट प्रक्रिया: २०८२ माघ ५ देखि ९ गतेसम्म
अन्तिम नतिजा: २०८२ माघ १२ गते
तालिम अवधि: २०८२ माघ १५ देखि २४ गतेसम्म
निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ । सेवा सुविधाअन्तर्गत प्रतिदिन रु ८६९.४० का दरले तलब दिइनेछ । यसअनुसार ४० दिनमा रु ३४ हजार ७७६ प्राप्त हुनेछ ।
यसका साथै खाद्यान्न खर्च, रु ८४६ तयारी खर्च, रु १,२०० खाजा खर्च, पोशाक खर्च तथा कर्तव्य पालनको क्रममा घाइते वा मृत्यु भएमा नेपाल सरकारको नियमअनुसार क्षतिपूर्ति उपलब्ध गराइनेछ । सम्पूर्ण भुक्तानी व्यक्तिगत बैंक खातामार्फत गरिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन ठूलो संख्यामा जनशक्ति आवश्यक भएकाले योग्य र इच्छुक नागरिकलाई अवसरको उपयोग गर्न आग्रह गरेको छ ।
