
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टीसँग पुस १४ गते भएको सहमतिलाई हालका लागि अगाडि नबढाउने निर्णय गरेको छ। उज्यालो नेपालसँगको सहकार्य टुटेपछि शनिबार दिउँसो आकस्मिक रूपमा जुममार्फत बसेको सचिवालय बैठकले यही एउटा मात्रै निर्णय गरेको हो।
पार्टी नेता शिशिर खनालका अनुसार सचिवालय बैठकमा विस्तृत छलफल भए पनि निष्कर्ष भने स्पष्ट र एकल थियो।
‘उज्यालो नेपालसँग पुस १४ गते सहमति भएको थियो,’ खनालले भने, ‘तर उक्त सहमति अहिलेलाई अगाडि नबढाउने निर्णय गरिएको छ।’
स्रोतका अनुसार पछिल्लो समय सहकार्यलाई लिएर देखिएका असहमतिहरू र कार्यदिशामा एकरूपता नआएपछि पार्टीले औपचारिक रूपमा कदम फिर्ता लिने निर्णय गरेको हो। यद्यपि बैठकमा अन्य कुनै राजनीतिक निर्णय वा वैकल्पिक रणनीतिबारे ठोस निष्कर्ष निकालिएको छैन।
रास्वपाको यो निर्णयसँगै उज्यालो नेपालसँगको सम्भावित राजनीतिक सहकार्य औपचारिक रूपमा रोकिएको छ। यसले वैकल्पिक राजनीति र नयाँ शक्तिहरूबीचको समीकरणमा नयाँ बहस सुरु गराउने देखिएको छ।
