
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी छनोट प्रक्रियामा सहभागी हुन चाहनेहरूका लागि खुसीको खबर आएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचन प्रहरीको दरखास्त दिने म्याद दुई दिन थप गरेको छ।
गृह मन्त्रालयअन्तर्गत जारी गरिएको सूचनाअनुसार यसअघि गत पुस २४ गते प्रकाशित निर्वाचन प्रहरी भर्ना सूचनामा अपेक्षित संख्यामा आवेदन नपरेपछि गृह मन्त्रालयको निर्देशनमा आवेदन अवधि थप गरिएको हो। अब इच्छुक उम्मेदवारहरूले आगामी माघ ३ गतेसम्म निर्वाचन प्रहरीका लागि दरखास्त दिन सक्नेछन्।
यो प्रक्रिया “निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन गर्ने सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि-२०८२” अनुसार सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
त्यसैगरी, निर्वाचन प्रहरी छनोटका लागि सम्पर्क आगामी माघ ४ गते तोकिएको छ। छनोट प्रक्रियामा सहभागी हुन चाहने सबै योग्य नागरिकलाई समयमै आवेदन दिन कार्यालयले आग्रह गरेको छ।
सूचना सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी गरिएको हो।
