उज्वल सहकारीको अधिवेशन सम्पन्न, नरेन्द्र बास्तोला पुनः अध्यक्षमा निर्वाचित

Share:

पोखरा। उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुधबार सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नरेन्द्र बास्तोलालाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।

नवगठित ९ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा बैकुण्ठराज तिमिल्सिना, सचिवमा सुरेन्द्र बास्तोला र कोषाध्यक्षमा मिना कुमारी गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा इन्दिरा बराल, विमला श्रेष्ठ, सिता पाण्डे, उमाकान्त रिजाल र सिता शर्मा चयन भएका छन् । लेखा समितिको संयोजकमा धिरज थापा तथा सदस्यहरूमा ओमनाथ अधिकारी र केशव बहादुर थापा निर्वाचित भएका छन् । सञ्चालक समिति र लेखा समितिका सबै पदमा सर्वसम्मत निर्वाचन भएको निर्वाचन संयोजक कृष्णराज आचार्यले जानकारी दिए ।

साधारण सभामा प्रमुख आमन्त्रित व्यक्तित्व समाजसेवी तथा संस्थाका ज्येष्ठ सदस्य प्रेमबहादुर श्रेष्ठले सहकारी आन्दोलनमा आफ्नो लामो अनुभव साझा गर्दै केही सीमित व्यक्तिहरूका कारण सहकारी क्षेत्र बदनाम हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे।

ऋण प्रवाह गर्दा पर्याप्त मूल्याङ्कन आवश्यक रहेको उल्लेख गर्दै विश्वासकै भरमा ऋण दिने प्रवृत्तिले समस्या सिर्जना भएको उनको भनाइ थियो।

संस्थाका सल्लाहकार तथा पत्रकार नारायण कार्कीले तीन खम्बे अर्थनीतिमा सहकारीको भूमिकामाथि प्रकाश पार्दै सहकारीहरू सहकारीका सात सिद्धान्तभित्र रहेर सञ्चालन हुनुपर्नेमा जोड दिए।

पुनः निर्वाचित भएपछि अध्यक्ष नरेन्द्र बास्तोलाले उज्वल सहकारीलाई अझ सुरक्षित, पारदर्शी, प्रविधिमैत्री र सदस्य–मैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उहाँले सदस्यहरूको बचतको पूर्ण सुरक्षा, मर्यादित कर्जा प्रणाली, डिजिटल सेवा विस्तार, युवामैत्री कार्यक्रम र सुदृढ सुशासनलाई उच्च प्राथमिकतामा राखिने बताए।

कार्यक्रममा सहकारी विज्ञ धर्मराज अर्याल, सहकारीका साधारण सदस्य तथा पृथ्वीनारायण क्याम्पसका सहायक प्राध्यापक इन्द्रप्रसाद शर्मालगायतले पनि धारणा राखे ।

सञ्चालक समिति सदस्य विमला श्रेष्ठको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र बास्तोलाले गरेका थिए भने अर्का सदस्य पुजन राजभण्डारीले सहकारीका सात सिद्धान्तमाथि प्रकाश पारेका थिए।

साधारण सभाले संस्थाको आर्थिक, सामाजिक तथा संस्थागत प्रगति समेटिएका वार्षिक प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गर्दै आगामी कार्यदिशा समेत तय गरेको छ।

कार्यक्रमका अवसरमा उत्कृष्ट बचतकर्ता हिमलाल शर्मा तिमिल्सिना र उषा काफ्ले, उत्कृष्ट कारोबारकर्ता आईती थापा र लक्ष्मी कोइराला, साथै हालै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको सचिवमा निर्वाचित संस्थाका सचिव सुरेन्द्र बास्तोला र कर्मचारीहरू पुष्पराज बास्तोला तथा निर्मला सापकोटालाई सम्मान गरिएको थियो।

अधिवेशनमा संस्थापक अग्रजहरू, पूर्व अध्यक्षहरू, शेयर सदस्य, कर्मचारी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: