कांग्रेसको आधिकारिकता गगन थापालाई, देउवाले गुमाए रुख चिह्न

Share:

पोखरा। निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई प्रदान गरेको छ । आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

यो निर्णयसँगै शेरबहादुर देउवाले कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा गुमाएका छन् । अब आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गरेर थापालाई मान्यता दिने निर्णय भएको आयोगले जनाएको छ । आयोगले शुक्रबार दुवै पक्षसँग छलफल गरेको थियो । छलफलपछि थापालाई सभापतिमा मान्यता दिने निर्णय गरिएको हो ।

आयोग स्रोतले विवरण अद्यावधिक गरिएको पुष्टि गर्यो । स्रोतले भन्यो, ‘गगन थापा नेतृत्वको आधिकारिकता प्रदान गर्दै अद्यावधिक गर्ने निर्णय भएको छ ।’ आयोगले दुवै पक्षका कागजात अध्ययन गरेर यो निर्णय लिएको हो ।

थापा काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए । यो महाधिवेशन पुस २७ देखि ३० गतेसम्म चलेको थियो । महाधिवेशनमा कांग्रेसका बहुमत प्रतिनिधि उपस्थित थिए ।

सभापति चुनिएपछि बिहीबार केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकको निर्णय लगत्तै थापा आधिकारिकता दाबी गर्न आयोग पुगेका थिए ।

देउवा पक्षले पनि आफू नै आधिकारिक भएको जिकिर गरेको थियो । देउवा पक्षले पनि आयोगमा कागजात बुझाएको थियो । तर आयोगले थापा नेतृत्वको कमिटीलाई नै आधिकारिक ठहर गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: