
पोखरा । पोखरा महानगरपालिका क्षेत्रभित्र फोहोरमैला व्यवस्थापनमा हाल केही अस्थायी समस्या देखिएको छ। महानगरपालिकाका अनुसार उत्पन्न भएको यस समस्याको समाधानका लागि निरन्तर प्रयास भइरहेको छ।
समस्या समाधान नहुँदासम्म घर, पसल तथा अन्य क्षेत्रबाट निस्कने फोहोर सार्वजनिक स्थल, सडक, चोक, बसपार्क, ताल-पोखरी तथा नदी किनारमा जथाभाबी नफ्याँक्न पोखरा महानगरपालिकाले नगरवासीहरूमा अनुरोध गरेको छ।
साथै महानगरपालिकाले सम्भव भएसम्म कुहिने र नकुहिने फोहोर घरमै छुट्ट्याउन आग्रह गरेको छ। नकुहिने फोहोरलाई सुरक्षित रूपमा जम्मा गर्न र कुहिने फोहोरलाई कम्पोस्ट मलजस्ता वैकल्पिक प्रयोगमा ल्याउन अनुरोध गरिएको छ।
पोखरा महानगरपालिकाको शहरी विकास, पर्यटन तथा वातावरण महाशाखाले नगरवासीहरूको सहयोग र सचेतनाले मात्र स्वच्छ, सुन्दर र दिगो पोखरा निर्माण सम्भव हुने विश्वास व्यक्त गरेको छ।

