मनोहर कप भलिबलको उपाधि आयोजककै पोल्टामा, पोखरा युनाइटेड ३-० ले पराजित

Share:

पोखरा । पोखरामा भएको मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ । मनोहर क्लबको आयोजनामा पोखरा-१४ मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा युनाइटेडलाई ३-० को सोझो सेटमा पराजित गर्दै आयोजक टोलीले उपाधि रक्षा गरेको हो । आयोजक टोलीले पहिलो सेट २५-१६, दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पार्‍यो ।

उपाधिसँगै आयोजक टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता बनेको पोखरा युनाइटेडले एक लाख एक हजार १११ रुपैयाँमा चित्त बुझायो । सेमिफाइनलसम्म पुगेका नवज्योति युवा क्लब र पकुवा भलिबल क्लबले जनही २० हजार पाए । प्रतियोगितामा सञ्जुविक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

उनले ८ हजार र ट्रफी हात पारे । सन्दीप सुनार स्पाइकर, दीपक थापा डिफेन्डर, अजय सुनार ब्लकर, सञ्जोक परियार सर्भर, लप्सन सुनार उदीयमान र सुमन राना प्रशिक्षक विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ५ हजार पाए । प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: